काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन् ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनीतिक दल गठन गर्ने घोषणा पनि गरेका छन् ।
पत्रकार सम्मेलनमा उनले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नुपरेको बताए ।
नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै नेता राणाले आफूले स्थापना गर्न लागेको दलको मुख्य आधार 'राजासहितको प्रजातन्त्र' हुने स्पष्ट पारे । उनले भने, 'मैले पार्टी खोलेको होइन, यो घर छोडेर अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न गइरहेको छु, जसमा राजासहितको प्रजातन्त्र हुनेछ ।'
नेता राणाले राप्रपाभित्रको कार्यसम्पादन समिति र कार्यसमितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरे पनि नेतृत्वले चासो नदेखाएको बताए । 'महाधिवेशन नगर्ने दिशामा गएपछि मैले धेरै पटक आवाज उठाएको थिएँ, तर नेतृत्व सुध्रने संकेत देखिएन,' उनले भने । पछिल्ला निर्वाचनहरूमा पार्टीको खस्कँदो अवस्था र आगामी स्थानीय तह निर्वाचनसम्म उम्मेदवारसमेत नपाउने स्थिति आउन लागेकोले आफूले विद्रोह गर्नुपरेको उनको तर्क छ ।
यसअघि उनले विज्ञप्ति जारी गर्दै राप्रपाबाट अलग हुने निर्णय सार्वजनिक गरेका थिए । राणासँगै राप्रपाका केही पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरी नयाँ राजनीतिक अभियानमा सहभागी भएको बताएका छन् ।
संस्थापक नेताहरूको अपमान र नयाँ पुस्ताको अवमूल्यन भएको महसुस गर्दै उनीहरूले राजसंस्था पुनस्र्थापनाको आन्दोलनलाई नेतृत्वले नै कमजोर बनाएको आरोप लगाउँदै आजकै मितिबाट पार्टीका सबै जिम्मेवारी त्यागेको घोषणा गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।