काठमाडौं– नेपाल राष्ट्र बैंकले नधुल्याएको मरिच, सुपारी, केराउ, छोकडा र ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारीसाधन पैठारी गर्दा आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा बन्द गरेको छ।
निकासी पैठारी ऐन २०१३ अन्तर्गत नेपाल सरकारले समय–समयमा निकासी पैठारी गर्न पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुहरु सोहीबमोजिम हुने राष्ट्र बैंकले जनाएको छ।
यसै व्यवस्थालाई टेकेर राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ मा संसोधन गरेको हो। तर भन्सार उपशीर्षक ०९०४।११।०० को नधुल्याएको मरिचअन्तर्गत औद्योगिक कच्चा पदार्थको रुपमा आवश्यक पर्ने मरिचसम्बन्धित उद्योगको उत्पादन क्षमता र खपतको प्रवृत्तिको आधारमा उद्योग विभागले प्रमाणित गरेको परिणामबमोजिम सबन्धित उद्योग आफैले आयात गर्ने प्रयोजनका लागि सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
यस्तै, कूटनीतिक सुविधाप्राप्त विदेशी कर्मचारीले निजी प्रयोगमा लागि ल्याउने ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारी साधन पैठारी गर्ने प्रयोजनका लागि पनि विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।