काठमाडौं- आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने र कर नतिर्ने १२ सय ठेकेदारको सूची सार्वजनिक गरेको छ। भ्याटमा दर्ता भएर लामो समयदेखि विवरण नबुझाउने र कर नतिर्ने २९ हजार करदातामाध्ये १२ सय ६ निर्माण व्यवसायी छन्।
त्यसका अतिरिक्त त्यति नै संख्यामा वस्तु तथा सेवा आपूर्तिकर्ता पनि भ्याटको विवरण नबुझाउने र कर नतिर्नेको सूचीमा छन्। सार्वजनिक निर्माणमा सहभागी हुने निर्माण व्यवसायीले भ्याट तिर्नुपर्नेमा उनीहरूले विवरणसमेत नबुझाउने गरेको विभागले जनाएको छ।
विभागले प्रकाशन गरेको सूचीमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनदेखि सांसद मोहन आचार्यको रसुवा कन्सट्रक्सनसम्म छ। त्यसका अतिरिक्त साना निर्माण व्यवसायी पनि ११ सयभन्दा धेरै भ्याट नतिर्नेको सूचीमा छन्।
विभागका अनुसार रसुवा/अजम्बररशिवराम जेभीले ८ वर्षयता भ्याट विवरण बुझाएको छैन। रसुवाले निलम्बित सांसद हरिनारायण रौनियारको पप्पु कन्सट्रक्सनसँग मिलेर काम गरेको पनि भ्याट तिरेको छैन। संविधानसभा सदस्य सांसद जनार्दन ढकालको सूर्यचन्द्र कन्स्ट्रक्सनले २० वर्षयता भ्याट विवरण बुझाएको छैन।
अर्का सांसद बहादुरसिंह लामाको हिम्डुङ एन्ड थोकर कन्स्ट्रक्सनले २०६१ सालपछिको भ्याट विवरण बुझाएको छैन।
उनीहरूले २०७५ असार मसान्तसम्मको कर विवरण तथा कर रकम तथा त्यसको ५० प्रतिशत ब्याज बुझाएमा उनीहरूको बाँकी बक्यौता मिनाहा हुने व्यवस्था चालु आर्थिक वर्षको आर्थिक ऐनमा छ। त्यसैअनुसार विभागले देशभरबाट कर विवरण, विवरणअनुसारको कर तथा ब्याज नबुझाउने करदाताको विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक भएको विवरणअनुसार ठूला करदाता कार्यालयअन्तर्गत एकजना पनि करदाता छैनन्। मध्यमस्तरीयअन्तर्गत एक फर्म सूचीमा परेको छ। मभ्यमस्तरीय करदाता कार्यालयअन्तर्गत मैनावती टेलिकटक सूचीमा परेको हो। यो कम्पनीका सञ्चालक अहिले जेलमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।