काठमाडौं- मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भइ समयमै विवरण र कर नबुझाउने २९ हजार २९ हजार ४ सय ४७ करदाताको नाम सार्वजनिक भएको छ। आन्तरिक राजस्व विभागले समयमै कर विवरण र बक्यौता नबुझाउने उनीहरूको नाम सार्वजनिक गरेको हो।
उनीहरूले २०७५ असार मसान्तसम्मको कर विवरण तथा कर रकम तथा त्यसको ५० प्रतिशत ब्याज बुझाएमा उनीहरूको बाँकी बक्यौता मिनाहा हुने व्यवस्था चालु आर्थिक वर्षको आर्थिक ऐनमा छ। त्यसैअनुसार विभागले देशभरबाट कर विवरण, विवरणअनुसारको कर तथा ब्याज नबुझाउने करदाताको विवरण सार्वजनिक गरेको हो।
विभागले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै विवरण र कर बुझाउन बाँकी करदाता छन्। त्यसमा पनि काठमाडौंको महाराजगञ्ज कार्यालयअन्तर्गत धेरै करदाता छन्। त्यस्तै ललितपुर १, भक्तपुर, काठमाडौंकै कालिमाटी, चाबहिल, नयाँ सडक लगायतका क्षेत्रका धेरै व्यवसायीले लामो समयदेखि कर विवरण तथा त्यसअनुसारको कर बुझाएका छैनन्।
सार्वजनिक भएको विवरणअनुसार ठूला करदाता कार्यालयअन्तर्गत एकजना पनि करदाता छैनन्। मध्यमस्तरीयअन्तर्गत एक फर्म सूचीमा परेको छ। मभ्यमस्तरीय करदाता कार्यालयअन्तर्गत मैनावती टेलिकटक सूचीमा परेको हो। यो कम्पनीका सञ्चालक अहिले जेलमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।