जुगल हिम शृङ्खलाको ग्याल्जेनपीक आरोहणको सुरुवात भएको छ। मंगलबार जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङसहितको टोली आरोहणका लागि प्रस्थान गरेका छन्।
राजधानी काठमाडौंबाट १४५ किलोमिटरको दूरीमा रहेको जुगल हिमश्रृंखलाको ग्याल्जेनपीक आरोहरण दोस्रो पटक हुने भएको हो। ६ हजार १५१ मिटर उचाइमा रहेको राजधानीवाट नजिकको उत्कृष्ट गन्तव्यको सूचिमा रहेको श्रृंखलामा गतवर्ष चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलोपटक आरोहण गरेसँगै यसले थप सम्भावनालाई उजागर गरेको छ।
जुगल गाउपालिका- ३ को उत्तरी भेगमा रहेको श्रृंखलाका ११ वटा चुचुरामा मात्र आरोहणका लागि अनुमति प्राप्त छ।
तीन हजार ५ सय मिटरको उचाइमा रहेको नेपेमाशालको मनोरम दृश्य, उच्च भूभागमा रहेको फराकिलो मैदान, नजिकै ब्रह्मायणी नदी, जंगलमार्गमा तोङश्युक (हजार जना अट्ने) गुफा जुगल आरोहणको पर्यटकीय पाटो रहेको जुगल गाउँपालिकाले जनाएको छ। हिमाल आरोहणका लागि अध्ययनमा सैद्धान्तिक, प्रयोगात्मक तथा अग्ला हिमाल आरोहणका लागि छोटो अवधिको तालिम तथा अभ्यासका लागि थप अध्ययनको जरुरी भएकोले आरोहण सुरु गरिएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन्।
‘कोरोना माहामारी नियन्त्रण भएपछिका दिनमा पर्यटन उद्योगलाई थप चलायमान बनाउनका लागि पनि तयारी स्वरुप यो आरोहण कार्यक्रम तय भएको हो’ तामाङले भनिन्। मौसम अनुकुल भएको खण्डमा एक सातामा आरोहण सकेर आधार शिविर फर्कने तयारी भइरहेको र सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा आरोहण दलमा पासाङकाजी शेर्पा, पेम्वा तामाङ, आङदोर्जी शेर्पा, आङछिरिङ शेर्पा, सार्की शेर्पासहित ६ जना रहेको जनाइएको छ।
यो पटकको आरोहण लगत्तै माउन्टेनेरिङ कलेजको सम्भाव्यता अध्ययनका लागि प्राविधिक र विज्ञ टोलीले पुनः त्यसतर्फ प्रस्थान गर्ने गाउँपालिकाले जनाएको छ।
जुगल गाउँपालिकाको आयोजना, सिन्धु पर्यटन परिषद्को सहजीकरण र सोल हिमालयन कम्पनीको व्यवस्थापनमा आरोहण सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।