काठमाडौं- काठमाडौं महानगरपालिकाले दुग्ध विकास संस्थान (डिडिसीको) बालाजु प्लान्टमा गरेको अनुगमनका क्रममा लेबलिङ नभएको करिब २ हजार क्विन्टल मख्खन (बटर) भेटिएको छ।
महानगरपालिकाका अनुसार डिडिसीले पोखराको सुजल डेरीबाट खरिद गरेको १ लाख ९४ हजार ९७५ किलो बटरका कार्टुनमा उत्पादन मिति, ब्याच नम्बरलगायत लेबलिङ नै नभएको भेटिएको हो। कुनै कार्टुनमा भने मार्करले लेखेर लेबलिङ गरिएको देखिएको छ।

डिडिसीको बालाजुस्थित प्लान्टका चारवटा गोदाममा भण्डारण गरि राखिएको उक्त बटरलाई डिडिसीले भने म्याद नसकिएको र गुणस्तरीय नै रहेको भनी दाबी गरेको छ। यद्यपी महानगरपालिकाले उक्त बटरको नमुना संकलनका गरी म्याद सकिएको वा नसकिएको बारे यकीन गर्न परीक्षणका लागि पठाएको छ।
उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कुनै पनि वस्तुमा अनिवार्य रुपमा लेबलिङ गर्नुपर्ने भएपनि सुजल डेरीबाट डिडिसीले किनेको बटरका कार्टुनमा लेबलिङ नभेटिनुले उक्त वस्तु म्याद गुज्रिएको हुन सक्ने र म्याद सकिएका सामान किनेर डिडिसीका कर्मचारीले आर्थिक चलखेल गरेकोसमेत हुनसक्ने आशंका गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।