काठमाडौं-ग्यास उत्पादक संघले ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन आग्रह गरेको छ। संघले सोमबार एक विज्ञप्ति जारी गर्दै रसिद बिनाको सिलिन्डर नलिन उपभोक्तालाई भनेको हाे।
नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य दुई हजार एक सय रुपैयाँ रहेको र रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने संघले जनाएको छ। यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने संघले उल्लेख गरेको छ।
यसअघि भरी सिलिन्डर ग्यासको मूल्य जथाभावी लिने गरिएकाे गुनासोपछि संघले खाली सिलिन्डरको धरौटी दुई हजार एक सय र नेपाल आयल निगमले तोकेको ग्यासको मूल्य थप जोडेर मात्रै ग्यास बिक्री गर्ने निर्णय गरेको थियो।
यसअघि नै सिलिन्डर किनिसकेका उपभोक्ताले भने आफूले ग्यास लिइरहेको डिलरमा गएर रसिद लिन सक्ने संघले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।