नयाँ दिल्ली (एजेन्सी)- बलिउड अभिनेत्री सोनम कपुर र आनन्द आहूजाको विवाहको तारिख घोषणा भएको छ।
सम्बन्धबारे विभिन्न अफवाह र गसिपलाई पूर्णविराम लगाउँदै दुवै परिवारले विवाहको मिति तय गरेका हुन्। सोनमले आउँदो मे ८ मा आफ्ना प्रेमी तथा दिल्लीका व्यापारी आनन्द आहूजासँग विवाह गर्दै छिन्।
बलिउड अभिनेता अनिल कपुरले आफ्नी छोरी सोनमको विवाह मुम्बईमा गराउनेछन्। सोसल मिडियामा सार्वजनिक भएका केही तस्बिरहरुमा अनिल कपुरको निवास सजाइएको र उनी पत्नीसहित विवाहको तयारीमा जुटेको देखिएको छ।
कपुर र आहूजा दुवै परिवारले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, 'कपुर र आहूजा परिवारलाई सोनम र आनन्दको विवाहको घोषणा गर्दा खुसी लागिरहेको छ। विवाह मे ८ मा मुम्बईमा हुनेछ।'
विज्ञप्तिमा अगाडि भनिएको छ, 'विवाह निजी मामिला भएकाले हामी तपाईंहरुसँग परिवारको निजत्वको आवश्यकतालाई सम्मान गर्न आग्रह गर्छौं। आफ्नो जीवनको यो खास अवसरमा उत्सव मनाउँदै हामी तपाईंको आशीर्वाद र प्रेमको लागि सबैप्रति आभार व्यक्त गर्छौं।'
सोनमको घरमा साजसज्जासहित विवाहको तयारी व्यापक रुपमा चलिरहेको छ। ३२ वर्षीया अभिनेत्री र दिल्लीका फेसन कारोबारी पछिल्लो केही वर्षदेखि प्रेममा थिए। दुवैलाई प्राय: सँगै देखिँदै आए पनि उनीहरुले आफ्नो सम्बन्धबारे कहिल्यै आधिकारिक रुपमा बताएका थिएनन्।
सोनम अभिनीत नयाँ फिल्म ‘वीरे दी वेडिङ’ जून १ मा रिलिज हुनेछ। फिल्ममा सोनमसँगै करिना कपुर खान, स्वरा भास्कर र शिखा तल्सानियाको मुख्य अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।