काठमाडौं- नयाँ फुटबल सिजनको खेलाडी किनबेच समय सकिएको हप्ता दिन पुग्न लाग्यो। तर खेलाडी किनबेचले ल्याएका हल्ला, खबर र बहस सकिएका छैनन्। ट्रान्सफर सिजनमा सबैभन्दा बढी चर्चामा थिए स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी।
मेस्सीले बार्सिलोना छाड्ने बताएसँगै उनलाई लैजान इंग्लिस क्लब म्यानचेस्टर सिटी सबैभन्दा नजिक पुगेको थियो। सिटी जाने सोचमा मेस्सी पनि सकरात्मक थिए। सिटी प्रशिक्षक पेप गार्डिओलासँगको कुराकानीमा उनी सहमति नजिक पुगेका थिए। तर बार्सिलोनाले आफ्ना स्टार खेलाडीलाई क्लब छाड्न दिएन। महँगो रिलिज क्लजका कारण सिटीले ठूलो रकम तिर्न सक्ने कुरा थिएन।
मेस्सीले आफै हुर्केको क्लबविरुद्ध मुद्दामामिला गर्न नचाहेको र एक सिजन बार्सिलोनामा नै रहने बताउँदा बार्सा समर्थक खुसी भए। तर मेस्सी जाने लगभग पक्का भइसकेको म्यानचेस्टर सिटीलाई नमजा भयो। तर बार्सिलोनामा मेस्सी रहँदा देखिएको राहत लामो समय रहनेछ भन्नेमा शंका देखिन्छ।
म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिओला पनि खेलाडी किनबेचको आउँदो समय मेस्सीका लागि प्रयास गर्नुपर्ने मनस्थितिमै छन्। म्यानचेस्टर सिटीका मुख्य कार्यकारी अधिकृत ओमर बेराडा पनि समर्थकहरुले मेस्सी आउने कुरा अहिले नै नभुलेको बताउँँछन्। ‘यदि मेस्सी बार्सिलोना छाड्न चाहन्छन् र उनको बिक्री किन्न मिल्ने शैलीको हुनेछ भने हामी अघि बढ्नेछौँ’ उनले भनेका छन्।
बेराडाले सिजनको मध्यमा हुने खेलाडी किनबेचको समयमा पनि मेस्सी लैजान प्रयास गर्ने पनि बताएका छन्। ‘यदि साच्चिकै सम्भावना देखिएमा हामी त्यसमा पछि हट्ने छैनौँ। मेस्सी वास्तवमा नै विश्व उत्कृष्ट खेलाडी हुन्। यसैले मलाई लाग्छ विश्वका जुन क्लबले पनि आफ्नो टिममा मेस्सी होउन् भन्ने चाहन्छ नै’ उनले भने।
आफूले क्लब छाड्न चाहेको र त्यसका लागि वातावरण बनाउन भन्दै क्लबलाई बुरोफ्याक्समार्फत जानकारी गराएको १० दिनपछि मेस्सीले सार्वजनिक रुपमा गोल स्पेनसँगको अन्तर्वार्तामा बोल्दै एक सिजन बार्सिलोनामा नै रहने बताएका थिए।
मेस्सीले पछिल्लो पटक सन् २०१७ मा बार्सिलोनासँग सम्झौता गर्दा हरेक सिजनको अन्त्यमा क्लब छाडेर जानसक्ने बुँदा उल्लेख भएको थियो। तर बार्सिलोनामा अझै एक वर्षको सम्झौता बाँकी रहेका मेस्सी लैजानका लागि ७०० मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने बार्सिलोना ब्यवस्थापनको भनाइका कारण म्यानचेस्टर सिटीलाई मुस्किल भएको थियो।
आफू बार्सिलोनामा नै रहने बताएसँगै मेस्सीले पुरानै शैलीमा मैदान फर्कने र जितको विश्वासमा अघि बढ्ने बताएका थिए। उनले समर्थक र क्लब सम्बद्ध सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।