काठमाडौं-सानिमा जनरल इन्स्योरेन्स कम्पनीकाे प्राथमिक शेयरमा मागभन्दा ६ गुणा बढी आवदेन परेपछि आजदेखि निष्काशन बन्द हुने भएको छ। कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा ७ लाख ५० हजारभन्दा धेरैको आवेदन परेको छ।
कम्पनीले गत बुधबारदेखि सर्वसाधारणका लागि ३० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। मागभन्दा बढी आवेदन परेपछि कम्पनीले पहिलो चरणमै बिक्री बन्द गरेको हो।
सर्वसाधारणतर्फको ३० लाख कित्तामध्ये एक लाख २० हजार कित्ता कर्मचारी र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोष म्युचुअल फण्डहरुलाई बिक्री गर्नेछ। बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ।
सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। प्राथमिक शेयरका लागि मेरो शेयरमार्फत् अनलाइनबाटै आवेदन दिन सकिनेछ। अनलाइन नलिएकाले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्।
प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ। जसमा संस्थापकतर्फको ७० प्रतिशत अर्थात् ७० करोड रुपैयाँ र सर्वसाधारण समूहको ३० प्रतिशत अर्थात् ३० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले दुई वर्षअघि बिमा समितिबाट निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्ने अनुमति पाएको थियो। बिमा समितिले तीनवटा नयाँ कम्पनीलाई निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।