रामपुर– पाल्पाको रामपुर नगरपालिका–२, कागतीडाँडाको कालिका प्राथमिक विद्यालयका विद्यार्थीको शैक्षिक अवस्था देख्दा अझै पनि शिक्षा परम्परावादी सोचमा अल्झिएको अनुभूति हुन्छ।
न्यून विद्यार्थीका कारण गाभिन लागेको यस विद्यालयमा गतवर्ष ८ जना विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका थिए। विद्यार्थी कम भएपछि यसै शैक्षिक सत्रदेखि गाभिने तयारीमा रहेको विद्यालय अहिले पहिलेको ठाउँबाट केही तल बस्तीनजिकै सारिएको छ।
यसले गर्दा विद्यालयमा हालसम्म ३८ जना विद्यार्थी भर्ना भएका छन् तर विद्यार्थी पढ्ने एउटा भवन पनि छैन। घामपानी, प्रचण्ड गर्मीको तापमा बसेर खुला आकाशमुनि पढ्न विद्यार्थी बाध्य भएका छन्।
विद्यालय भवनको अभावमा अहिले चौतारीमा राखेर विद्यार्थीलाई शिक्षा दिइँदै आएको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताए। ‘गाउँमा बसाइँसराइ बढ्न थालेपछि विद्यार्थी एकदमै न्यून भए। गाउँदेखि करीब ५ सय मिटर तल विद्यालय सारिएपछि विद्यार्थी भर्ना बढ्दो छ।’, उनले भने, ‘हामीले गाउँको विद्यालयलाई अन्यत्र गाभ्न नदिने उद्देश्यले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, वडावासी मिलेर नगर शिक्षा समितिसँग समन्वय नगरिकन विद्यालय स्थानान्तरण गरेर सञ्चालन गरिरहेका छौं।’
गाउँका बालबालिकाले गाउँबाटै सहजरुपमा शिक्षा लिन पाउन् भन्ने उद्देश्यले विद्यालय स्थानान्तरण गर्न बाध्य भएको उनको भनाइ छ।
अहिले टहरा बनाउने कार्य भइरहेको हुँदा टहरा सम्पन्न नहुँदासम्म चौतारीमा राखेर पढ्ने व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीरा विक बताउँछिन्। ‘टहरा निर्माणको क्रममा छ। अब हप्ता दश दिनभित्र सम्पन्न हुन्छ। त्यसपछि टहरामा राखेर पढाउने छौँ।’, उनले भनिन्।
विद्यालय स्थानान्तरणको बारेमा नगर शिक्षा समितिलाई भने कुनै खबर नभएको नगर शिक्षा अधिकृत रमाकान्त अर्याल बताउँछन्। ‘हामीले अहिलेसम्म औपचारिक रुपमा विद्यालय स्थानान्तरण भएको खबर पाएका छैनौं। अब तत्काल विद्यालयमा पुगेर अनुगमन गर्नेछौँ।’, अर्यालले भने,‘खुल्ला आकाशमुनि राखेर पढाएको भन्ने कुरा सुन्नमा आएकाले मैले विद्यालयका प्रधानाध्यापकलाई फोनमार्फत कक्षाकोठाको तुरुन्त व्यवस्था गरेर पढाउनुहोस् भनेर निर्देशन दिएको छु।’
शिक्षा ऐन नियमावलीअनुसार नगर शिक्षा समितिलाई औपचारिक जानकारी दिई स्विकृति लिएर मात्रै विद्यालय स्थानान्तरण गर्न मिल्छ।
(सुशीला रेग्मी/रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।