एजेन्सी–उत्तर कोरियाले शनिबार राति भव्य सैन्य परेड आयोजना गरेको छ। सत्तारुढ वर्कस पार्टीको ७५ औं वार्षिकोत्सवका अवसरमा सैन्य परेड आयोजना गरिएको जनाइएको छ।
नयाँ मिसाइल र हतियार देखाउनुपर्दा उत्तर कोरिया सैन्य परेड आयोजना गर्नेगर्छ। शनिबारको परेडमा पनि इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रदर्शन गरिएको छ।
२ वर्षयता पहिलोपटक यस्तो परेड आयोजना गरिएको हो। अमेरिकी राष्ट्रपति चुनावअघि उत्तर कोरियाले यसरी नयाँ हतियार प्रदर्शन गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।
दक्षिण कोरियाली सेनाका अनुसार शनिबार राति यो परेड गरिएको थियो। तर राति नै यस्तो परेड किन निकालियो भन्नेबारेमा अझै स्पष्ट भएको छैन। परेडमा नेता किम जोङ उन खरानीरंगको वेस्टर्न सुटमा देखिएका छन्। त्यसअवसरमा दिएको भाषणमा उनले आत्मरक्षा तथा आक्रमणको जवाफ दिनका लागि सेनालाई मजबुत बनाउन जरुरी भएको बताएका थिए।
उनले कोरोना भाइरसबाट प्रभावित विश्वका मुलुकका नागरिकको स्वास्थ्य लाभको कामना गरेका थिए। उत्तर कोरियामा हालसम्म कोरोना संक्रमण नभएको दाबी गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।