काठमाडौँ- डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले गर्ने आन्दोलनप्रति आवासीय चिकित्सकहरुले ऐक्यबद्धता जनाएका छन्। डा केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले संघले आइतबार देशभर कोभिड र आकस्मिकबाहकेका सबै सेवा बहिष्कार गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत् जानकारी गराएको थियो।
त्रिवि शिक्षण अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालका आवासीय चिकित्सकहरूले संघको आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेका हुन्। नेशनल रेजिडेन्ट डाक्टर्स एशोसियसन, रेजिडेन्ट एशोसियसन अफ न्याम्स र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन्।
डा केसीका माग सम्बोधन गर्न बिहीबार र शुक्रबार वार्ता भएपनि कुनै सहमति निस्कन सकेको छैन। बिहीबारको वार्तामा सहमतिको मस्यौदा तयार भएको भनिएपनि सरकारी पक्षले तयार पारेको सहमतिको मस्यौदाका विषयमा शिक्षामन्त्री र प्रधानमन्त्री पछि हटेको र डा केसीलाई मार्ने नियत राखेको डा केसी पक्षको वार्ता टोलीले आरोप लगाएको छ।
२६ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ। डा केसीको यो १९औँ पटकको अनसन हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।