काठमाडौं- नेपाल चिकित्सक संघले असोज २५ गते आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न निर्णय गरेको छ। उक्त दिन आकस्मिक र कोभिडबाहेकका सबै सेवा प्रवाह बहिष्कार गर्ने संघले निर्णय गरेको हो।
२७ दिनयता अनसनरत डा गोविन्द केसीका माग पूरा गर्न र उनको जीवनरक्षाको माग गर्दै आकस्मिक र कोभिडबाहेकका सेवा प्रवाहलाई बहिष्कार गर्ने निर्णय संघले गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ।
यसअघि बिहीबार र शुक्रबार सरकार र डा केसीपक्षबीच वार्ता भएपछि शुक्रबारका लागि निर्धारित कार्यक्रम स्थगित गरिएको थियो।
डा केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको तर सरकारले अनसनको २७ दिन बित्दा पनि कुनै चासो व्यक्त नगरेको भन्दै संघले विरोधस्वरुप सेवा प्रवाह बिहिष्कार गर्न लागेको विज्ञप्तिमा उल्लेख छ।
डा केसीका माग पूरा गर्नभन्दा उनको अनसन तोडाउने पक्षमा सरकार छ। सरकारले शनिबार तेस्रोपटक अनसन स्थगित गर्न आग्रह गरेको छ। तर डा केसी आफ्ना माग पूरा नगरुन्जेल अनसन नतोड्ने अडानमा छन्।
त्रिवि शिक्षण अस्तपालमा अनसन जारी राखेका डा केसीको स्वास्थ्य अवस्था एकदमै कमजोर भएको र शरीरमा अक्सिजनको मात्रा घटेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।