काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले कम्पनीले ४० मेगावाट उत्पादन क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणमा लगानी गर्नका लागि पूँजी जुटाउन हकप्रद शेयर जारी गर्ने भएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज १८ गते स्वीकृत प्राप्त गरी मिति २०७६ फागुन ३० गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ ०.४७६१९०४७६१९ (१ : ०.४७६१९०४७६१९) को अनुपातमा प्रतिशेयर १ सय अंकित दरको ५६ लाख ७० लाख कित्ता हकप्रद साधारण शेयरको निष्काशन गर्न लागेको हो। कम्पनीले आगामी कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म सेयर बिक्री वितरण खुला राख्नेछ।
कम्पनीको हालको अधिकृत पूँजी ५ अर्ब, जारी पूँजी ४ अर्ब, र चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबर छ। गत आर्थिक वर्ष २०७६/०७७ को व्यवस्थापनबाट प्रमाणित वित्तीय विवरण अनुरुप कम्पनीको जम्मा नेटवर्थ १ अबए ३६ करोड, जगेडा कोष तथा संचित नाफामा १७ करोड रहेको र प्रतिशेयर आम्दानी ८ दशमलव ४ रुपैयाँ बराबर रहेको छ।
माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि जम्मा ७ अर्ब ४० करोड रुपैयाँ बराबर लगानी लाग्ने अनुमान गरिएको छ।
कम्पनीले कुल लागतमध्ये ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाएको छ। बाँकी ७० प्रतिशतले हुने ५ अर्ब १८ करोड हिमालयन बैंक लिमिटेडको अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सहभागी गरी आयोजनाको सह–वित्तीयकरण गरी ऋण प्रवाह गर्नेगरी असोज ११ गते वित्तीय व्यवस्थापन सम्झौता भइसकेको छ।
कम्पनीले आफ्नो लगानी तथा बैंक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा रहेको नौगड गाढ नदीको पानी उपयोग गरी पहिलो आयोजनाको रुपमा ८ दशमलव ५ मेगावाट क्षेमताको नौगड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।
त्यस्तै कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना मिति २०७६ साल कार्तिक १३ गतेबाट व्यापारिक उत्पादन सुरु गरिसकेको छ। यी दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरीया–बलाँच १३२ केभी ट्रान्समिसन लाइनमार्फत् राष्ट्रिय प्रशारणलाइनमा जोडिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।