काठमाडौं- पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन्। विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका हुन्।
बुधबार मरु गणेशस्थित शर्मा निवासमै पुगेर ओमनारायण श्रेष्ठले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि प्यारालाइसिसबाट थलिएका थिए।
वि.सं. २०३३ सालबाट बक्सिङ खेल्न थालेका शर्मा पाँच पटकका राष्ट्रिय च्याम्पियन हुन्। उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए।
नेपाल बक्सिङ संघका सदस्य श्रेष्ठले पूर्वबक्सर शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन पनि सुरु गरिएको बताए। ‘उहाँको उपचारका लागि हामीले साथीभाइसँग समन्वय गरिरहेका छौं’, उनले भने, ‘देश तथा विदेशबाट सहयोग संकलन भएपछि फेरि उहाँलाई हस्तान्तरण गर्ने छौं।’
नेपाली बक्सिङको विकास र विस्तारमा लामो समयदेखि क्रियाशील श्रेष्ठले यसअघि पनि आपतविपद्मा परेका खेलाडी, प्रशिक्षकलगायतलाई सहयोग गर्दै आएका छन्। उनले केही महिना अघि आफ्नै निजी खर्चमा १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी १६ खेलाडीसँगै प्रशिक्षक र रेफ्रीजर्जको कोरोना बीमा गरिदिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।