काठमाडौं- कोभिड-१९ का कारण व्यापारिक क्षेत्रमा देखिएका शिथिलतालाई चलायमान बनाउन तथा अनलाइन इ-कमर्सको माध्यमबाट व्यापार वृद्धि गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बर र सोचेको डटकमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा महिला चेम्बरको तर्फबाट सभापति उर्मिला श्रेष्ठ र सोचेको डटकमका प्रबन्ध निर्देशक शैलेश लोहनीले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा सभापति श्रेष्ठले अहिले अनलाइनको प्रयोग गरी व्यवसाय गर्ने क्रम बढिरहेको भन्दै सोचेको डटकमबाट एकीकृत रूपमा सामान बिक्री वितरण गर्न लागिएको बताइन्। उनले यो समझदारीबाट उपभोक्ता लाभान्वित हुने बताइन्।
यस्तै सोचेको डटकमका प्रबन्ध निर्देशक लोहनीले अनलाइन सपिङमार्फत विभिन्न उत्पादक तथा विक्रेताको उत्पादनलाई विक्री गर्न र बजीकरण गर्न आफूहरूले सहयोग गर्ने बताए। मेगाटेक ग्रुप प्रवर्द्धक रहेको यस कम्पनी नेपाली उद्यमशील युवाबाट सञ्चालित तथा पूर्णरूपमा नेपाली लगानीमा सञ्चालित अग्रणि अनलाइन प्लेटफर्म रहेको बताए।
समझदारीपत्रमा महिला उद्यमीबाट उत्पादित उत्पादनलाई सोचेको डटकमको वेबसाइटमा राखिने, वेबसाइटसम्बन्धी तथा डिजिटल मार्केटिङको तालिम उपलब्ध गराउने, उत्पादनको सामाजिक सञ्जालबाट ब्राण्ड म्यानेजमेन्टजस्ता सेवा दिइने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।