काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले गएको २०१९-२० सिजनको हिसाबकिताब सार्वजनिक गरेको छ। जसमा क्लबलाई एक वर्षमा नै ९७ मिलियन युरो घाटा लागेको बताइएको छ। क्लबले कोरोना माहामारीका कारण ठूलो लागेको बताएको छ।
यदि कोरोनाका कारण फुटबल बजार संकटमा नपरेको भए २ मिलियन युरो नाफामा हुने बार्सिलोनाले जनाएको छ। माहामारी हुँदा र माहामारी नभएको भए के हुन्थ्यो भन्ने दुवै तरिकाले क्लबले हिसाब सार्वजनिक गरेको हो।
‘बार्सिलोनामा मात्र होइन कोराना माहामारीका कारण खेलकुद जगत नै समस्यामा छ। आयमा भएको ठूलो कमिका कारण क्लब घाटामा देखिएको छ। लामो समय खेलकुद रोकिएर सुरु हुँदा पनि दर्शक उपस्थित हुन नपाउँदा संकट अझ बढेको हो’ बार्सिलोनाले विज्ञप्तीमार्फत भनेको छ।
कोरोना माहामारीका कारण पहिले नै खेलाडीहरुको तलबमा ७० प्रतिशतसम्म कटौती गरेको बार्सिलोनाले दोस्रो चरणमा खेलाडीको तलब कम गर्ने गरी तयारी गरिरहेको छ। खेलाडीका साथै क्लबमा संलग्न सबै कर्मचारीको तलबमा कमि हुने बताइएको छ।
कोरोना माहामारी सुरु हुँदा अरु कर्मचारीको तलब पूरा दिने गरी खेलाडीहरुले दुई महिना ७० प्रतिशतसम्म तलब कम लिन राजी भएका थिए। जसमा कप्तान लियोनल मेस्सीले नै खेलाडीहरुको तर्फबाट सहमति जनाएका थिए।
अहिले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टामेउविरुद्ध अविश्वासको प्रस्तावसमेत दर्ता भएको छ। जसले अध्यक्ष बर्टामेउलाई राजीनामाका लागि दबाब सिर्जना भएको छ।
अविश्वासको प्रस्तावका लागि क्लब ब्यवस्थापनको निर्वाचनमा संलग्न हुनेमध्येबाट १६ हजार ५ सय २१ हस्ताक्षर आवश्यक पर्नेमा २० हजार ७ सय ३१ हस्ताक्षर अध्यक्षविरुद्ध बुझाइसकेका छन्। जसमा अहिले बुझाइएका हस्ताक्षरमाथि जाँच भइरहेको छ। हस्ताक्षरमाथिको जाँचपछि दुई तिहाइ सदस्यले ब्यबस्थापनविरुद्ध मत दिएमा बर्टामेउ अध्यक्षबाट हट्नुपर्नेछ। जसपछि नयाँ चुनाव हुनेछ।
क्लब ब्यवस्थापनमा बर्टामेउको काम राम्रो नभएको भन्दै निरन्तर आलोचना भइरहेको छ। कप्तान लियोनल मेस्सीले पनि क्लब छाड्ने प्रयास असफल भएपछि बर्टामेउविरुद्ध खुलेर बोलेका थिए। अहिले क्लबमा देखिएको ठूलो घाटाका कारणसमेत बर्टामेउविरुद्ध राजीनामाको दबाब बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।