काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडले यो सिजन खेलाडी किन्न एक पैसा पनि खर्च गरेन। युरोपका ठूला पाँच लिगमा चलेका क्लबहरुमा खेलाडी किन्न चासो नदेखाउने रियल मड्रिड मात्रै हो। जसले केही खेलाडीहरु बेचेको मड्रिडले कोरोनाका कारण कमजोर बनेको फुटबल बजारमा सम्हालिन सकिरहेको छ।
अचरफ हाकिमी, ओस्कार रोड्रिग्वेज, सर्जियो रेगुलोन र ह्यामेस रोड्रिग्वेज जस्ता खेलाडी बेचेर एक सय मिलियन भन्दा बढी कमाएको रियल मड्रिडले स्टार खेलाडी ग्यारेथ बेललाई टोटनह्याममा लोनमा पठाएको उनको तलब समेत बचत गर्न सकेको छ।
गएको सिजन लोनमा बाहिर गएका खेलाडीहरु मार्टिन ओडेगार्ड, अल्भारो ओड्रिओजोला र एन्ड्री लुनिन जस्ता खेलाडी नै अहिले प्रशिक्षक जिनेदिने जिदानका लागि नयाँ सम्झौतामा किनिएका खेलाडी जस्तै भएका छन्। जसमा जिदानले आश देखाएका पनि छन्।
खेलाडी किन्ने समयमा मात्र होइन रियल मड्रिडले सान्टियागो बर्नाबेउ स्टेडियमको पुनर्निर्माण गर्न पनि संयमता अपनाइरहेको छ। खर्च कटौतीका लागि नै दोस्रो पटक खेलाडीको तलब कम गर्ने विषयमा पनि कुराकानी भइरहेको छ।
रियल मड्रिडले पिएसजीमा रहेका केलियन एमबाप्पेलाई किन्ने योजनाबारे हल्ला चलिरहे पनि मड्रिड त्यसमा अघि बढेको देखिँदैन। एमबाप्पेको पिएसजीसँगको सम्झौता सकिएपछि मात्र मड्रिडले प्रस्ताव गर्ने देखिएको छ। त्यसका लागि आउँदो सिजनसम्म कुनुपर्ने हुन्छ।
नयाँ सिजनको खेलाडी किनबेचको समयमा युरोपका ठूला लिगहरुमा सबैभन्दा बढी रकम खर्च गर्ने क्लब चेल्सी देखियो। जसले २४७ मिलियन युरो खर्चेर खेलाडीहरु भित्र्याएको छ। जसमा हाभेट्ज, वेर्नर, चिलवेल, हकिम जियाच जस्ता खेलाडीहरु छन्।
यस्तै प्रिमियर लिग क्लब नै म्यानचेस्टर सिटीले नाथन एके, रुबेन डायस र फेरान टोरेस जस्ता खेलाडीमा १५७ मिलियन युरो खर्च गरेको छ। ला लिगामा रियल मड्रिडकै प्रतिस्पर्धी क्लब बार्सिलोना ठूलो घाटामा हुँदाहुँदै पनि खेलाडी किन्न पछि हटेन। युभेन्टससँग आर्थर मेलो र मिरालेम पियानिच साटफेर गरेको बार्साले आयाक्सबाट सर्जिनो डेस्ट किन्यो।
ला लिगामा नै एथ्लेटिको मड्रिडले पनि ९० मिलियन युरो जति खेलाडी किन्नमा खर्च गरेको देखिन्छ भने प्रिमियर लिग क्लबहरु टोटनह्याम, आर्सनल। म्यानचेस्टर युनाइटेड र लिभरपुलले ७९ मिलियन युरो जति खर्च गरेका छन्। जहाँ गएको सिजन च्याम्पियन्स लिग विजेता क्लब बायर्न म्युनिकले ६४ मिलियन युरो खर्च गरेको छ। यस्तोमा रियल मड्रिड यस्तो क्लब बन्यो जसले एक युरो खर्च गरेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।