काठमाडौं–सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा सर्वसाधारणका लागि ३० लाख कित्ता प्राथमिक शेयर असोज २५ गतेसम्म निष्काशन गर्नेछ। पहिलो चरणमा बिक्री नभएमा ढिलोमा कात्तिक ६ गतेसम्म निष्काशन गर्न सक्नेछ।
सर्वसाधारणतर्फको ३० लाख कित्तामध्ये एक लाख २० हजार कित्ता कर्मचारी र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोष म्युचुअल फण्डहरुलाई बिक्री गर्नेछ। बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ।
सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकत एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। यस अगाडि निष्काशन गरेको अजोड इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयरमा ८ लाख १३ हजारले आवेदन दिएका थिए। यही अनुपातमा आवेदन परेको खण्डमा कम्पनीको प्राथमिक शेयरमा अधिकतम नै १० कित्ताका लागि आवेदन दिए पुग्छ।
प्राथमिक शेयरका लागि मेरो शेयरमार्फत् अनलाइनबाटै आवेदन दिन सकिनेछ। अनलाइन नलिएकाले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्।
प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ। जसमा संस्थापक तर्फको ७० प्रतिशत अर्थात् ७० करोड रुपैयाँ र सर्वसाधारण समूहको ३० प्रतिशत अर्थात् ३० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले दुई वर्षअघि बिमा समितिबाट निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्ने अनुमति पाएको थियो। बिमा समितिले तीनवटा नयाँ कम्पनीलाई निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।