काठमाडौं- नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह आयोजना गर्ने भएको छ। बोर्डले असोज २१ गतेदेखि २५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेर विश्व लगानीकर्ता सप्ताह मनाउने भएको हो। कोभिड- १९ को असहज परिस्थितिलाई मध्यनजर गरेर डिजिटल माध्यमबाट कार्यक्रम गर्ने भएको हो।
सप्ताहको पहिलो दिन असोज २१ गते बोर्डले रेडियो नेपालबाट धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी सचेतनामुलक कार्यक्रम प्रसारण गर्नेछ। दोस्रो दिन बोर्डले जुममार्फत् लगानीकर्ताहरुमा छरिएर रहेको पुँजी कम लागत तथा सर्वसुलभ रुपमा उत्पादनशील क्षेत्रमा परिचालननका लागि धितोपत्र बजार भन्ने मूल मर्मका साथ लगानीकर्ता तथा उच्च व्यवस्थापनमा रहेका व्यक्तिहरुबीच छलफल आयोजना गर्नेछ।
असोज २३ गते शेयर बजारसँग सम्बन्धित विविध जानकारीमुलक सामग्री प्रदान गर्न सक्ने प्रणाली 'इलेक्ट्रोनिक रिपोर्टिङ एण्ड रेट्रिएभल सिस्टम-इआरआरएस' को अनावरण गरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेको छ। चौथो दिन लगानीकर्ताले लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु तथा लगानी गर्ने सम्बन्धमा सचेतनामूलक सामग्री गोरखापत्र र नयाँ पत्रिका दैनिकमा प्रकाशन गर्नेछ।
अन्तिम दिन असोज २५ गते आइतबार लगानीकर्तालाई सवलीकरण गर्दै उनिहरुको हकहितको संरक्षण गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डको भूमिकासम्बन्धी एक वृत्तचित्र नेपाल टेलिभिजनबाट प्रशारण गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।