काठमाडौं–बझाङको मस्टा गाउँपालिका-२ खिकालाकी एक बालिका बलात्कार गरेको घटनामा मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मस्टा गाउँपालिका–३ का २४ वर्षीय झलक दमाई, मस्टा–३ का ४५ वर्षीय लालबहादुर बोहरा, सोही ठाउँका ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फ बोहरा छन् ।
बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले यसअघि एक बालिकालाई बलात्कार गरेका थिए। विकको बलात्कारपछि हत्या आरोपमा उनी पक्राउ परेपछि पीडित बालिकाका परिवारले राजेन्द्रसहित मिलापत्र गराउनेविरुद्ध जोहेरी दिएका थिए । सोही जाहेरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
एक महिनाअघि भएको उक्त बलात्कारको घटना गाउँमै मिलापत्र गराएर गुपचुप राखिएको थियो। गत साउन २९ गते बोहराले पानी घट्टामा आएकी १४ वर्षीया बालिका बलात्कार गरेका थिए। उक्त घटना गाउँमा फैलिएपछि साउन ३१ गते नै स्थानीयको रोहबरमा मिलापत्र गरेको पाइएको छ।
मिलापत्रमा ती बालिकाको पेटमा बच्चा भएको अवस्थामा भने राजेन्द्रले नै स्वीकार गर्नेसमेत उल्लेख गरिएको थियो । अहिले भने १२ वर्षीया सम्झना विकको बलात्कार र हत्या आरोपमा बोहरा प्रहरी हिरासतमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।