काठमाडौं- नेपाल क्लियरिङ हाउसमा १० प्रतिशत शेयर स्वामित्व भएको स्मार्ट च्वाइस टेक्नोलोजीले आफ्नो लगानी फिर्ता लैजाने भएको छ। कम्पनीले आफ्नो नामको दुई लाख ९८ हजार ८० कित्ता शेयर बोलकबोल लिलामको लागि आह्वान गरेको छ।
एउटै किसिमको सेवा प्रदान गर्ने भएकाले स्मार्ट च्वाइस बाहिन लागेको हो। दुबै कम्पनी भुक्तानी प्रणाली सँग सम्बन्धित छन्। नेपाल क्लियरिङले विद्युतिय भुक्तानी तथा सेटलमेन्टमा काम गर्दै आएको छ। त्यस्तै एसटिसीले पनि बैंक तथा वित्तीय संस्थाको एटिएम तथा पिएसओ मार्फत्को भुक्तानीमा काम गर्दै आएको छ।
कम्पनीको शेयर हाल कायम नेपाल क्लियरिङ हाउसका शेयरधनीले किन्नुपर्ने हुन्छ। यस बाहेक सरकारी स्वामित्व रहेको विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले आवेदन दिने सक्नेछन्।
५० हजार कित्तादेखि अधिकतम माग गरिए जतिकै लागि आवदेन दिन सक्नेछन्। उक्त शेयर बिक्रीका लागि बिक्री प्रवन्धक मुक्तानाथ विकास बैंक रहेको छ। इन्छुक संस्थागत लगानीकर्ताले कात्तिक २५ गतेसम्ममा बोलकबोल आह्वान गर्न सक्नेछन्। संस्थाको न्युनतम प्रतिमूल्य ३५० रुपैयाँ तोकिएको छ। यस आधारमा न्युनतमका लागि मात्रै बोलकबोल भएमा पनि स्मार्ट च्वाइसले १० करोड ४३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
नेपाल क्लियरिङ हाउसमा हाल स्मार्ट च्वाइस सहित ७२ वटा संस्थागत शेयरधनी रहेका छन्। जसमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत बैंक तथा वित्तीय संस्था ८० प्रतिशत शेयर पुँजी रहेको छ। एनसिएचएलको प्रतिशेयर आम्दानी ११० रुपैयाँ छ। गत वर्षको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ ३१२ रुपैयाँ रहेको छ। सामान्यतया नेटवर्थभन्दा माथिका लागि बोलकबोल खुलाउनुपर्ने नियम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।