काठमाडौं–राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुलीको दुधौली नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले हस्ताक्षर गरेका छन्। सम्झौतापछि नगरलालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्ने छ । तिनै उद्यमीलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने छ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौतापछि बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए।
नगर प्रमुख राउतले यस्तो कर्जाको उपभोगबाट नगरबासीले आफ्नो तथा समुदायको आर्थिक स्तर उकास्न सघाउ पुग्ने बताए। उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।