काठमाडौं–दोस्रो बजारमा शेयर कारोबार गर्ने उद्देश्यले स्थापित नागरिक स्टक डिलरको प्रमुख कार्यकारी अधिकृतमा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन्। नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डलरले खुला प्रतिस्पर्धाबाट श्रेष्ठलाई नियुक्ति गरेको हो।
कोषले गत शनिवार अन्तिम सूचीमा परेका सन्तोषराज नेपाल र महेश्वरलाल श्रेष्ठको अन्तर्वार्ता तथा व्यावसायिक योजनाको प्रस्तुति लिएको थियो। त्यसपछि छनोट उपसमितिले श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरेको हो। श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनले नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण विभागमा रहेर लामो समय काम गरेका थिए।
नागरिक स्टक डिलरमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर पुँजी रहेको छ। त्यस्तै नेपाल टेलिकमको ९ प्रतिशत, नेपाल पुनर्बिमा कम्पनीको १० प्रतिशत रहेको छ। बाँकी ३० प्रतिशत सर्वसाधारणका लागि शेयर जारी गर्ने योजना रहेको छ। डिलरको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।