अवैध रुपमा ‘रिलेबलिङ’ गरेर बजारमा पठाउन लागिएको अवस्थामा कलंकीबाट बरामद भएका चकलेटलगायतका वस्तू। फाइल तस्बिर
काठमाडौं–म्याद गुज्रिएका सामान बेच्ने कलंकीस्थित अर्को गोदाममा पनि प्रहरीले छापा मारेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीको मालपोत कार्यालय पछाडिएको एक घरमा म्याद गुज्रिएका खाद्य सामग्री गोदाम बनाएर राखेको अवस्थामा एयसटी प्रालिको गोदाममा छापमा मारेको हो। यो गोदाम अनिलकुमार बंका, प्रविन बंका र किरणदेवी अग्रवालको नाममा रहेको छ।
प्रहरीले म्याद गुज्रिएका सामान बेच्ने गरेको आरोपमा भारत समस्तीपुर, बिहारका आनन्दकुमार अवस्थी, अनिलकुमार बंका, रस्मिता श्रेष्ठ र विनोद ओझा गरी चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये श्रेष्ठ क्वालिटी म्यानेजर हुन् भने अवस्थी लेखापाल हुन्।
ओझालाई भने स्टोर किपरको जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ। केही व्यक्ति भने फरार भएका खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौं एसएसपी श्यामलाल ज्ञवालीले बताए।
वृत्तका डिएसपी अपिलराज बोहराका अनुसार ठूलो मात्रामा चक्लेटहरु, तेल, पिठोलगायतका खाद्य सामानहरु बरामद भएका छन्।
‘अहिले हामी गोदाममै छौं सामान कति हुन्छ भन्ने पनि यकीन छैन,’ डिएसपी बोहराले नेपाल लाइभसँग भने, ‘म्याद गुज्रिएका यी सामान रिलेबलिङ गरेर बजार पठाउन लागिएको अवस्थामा छापा मारिएको हो।’
प्रहरी र वाणिज्य विभागको संयुक्त टोलीले यसअघि पनि कलंकी क्षेत्रबाट ठूलो मात्रामा म्याद गुज्रिएका खाद्य सामान बरामद गरेको थियो । उक्त सामान रिलेबलिङ गरेर बेच्न लागेको अवस्थामा ८ जना पक्राउ परेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।