काठमाडौं- राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ। एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार खेलाडीलाई चार लाख रुपैयाँ सहयोग गरिएको हो।
एथलेटिक्सका पूर्वराष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ सहयोग गरियो। क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो। उक्त रकम राईकी धर्मपत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरियो। स्व. राईका ८ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन्। सो रोगबाट उनको दुवै आँखाको ज्योति पनि गुमेको छ।
बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरियो। तीनैलाई घुडाको समस्या छ। मनीषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले बुझाउने गरी बुझेका छन्।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य–सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उनीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। सो अवसरमा राखेपका सदस्य सुभाष श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतको उपस्थिति थियो।
कल्याणकारी कोष २०६८ सालमा समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जनाएका छन्। कोषमा जम्मा गरिएको रकमको ब्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग हुँदै आएको छ।
यसअघि २०७२ सालको भूकम्पमा ज्यान गुमाएका खेलाडी, प्रशिक्षक र खेल पत्रकार गरी १२ परिवारलाई समान १–१ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो। भूकम्पकै कारण अन्य क्षति व्यहोरोका ८० खेलाडीलाई जनही २० हजारका दरले आर्थिक सहयोग दिइएको थियो। त्यसबाहेक समयस्यामा परेका खेलाडीलाई पनि विभिन्न समयमा कोषले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।