काठमाडौं-साताको अन्तिम दिनको कारोबारले घट्दो क्रममा रहेको बजारलाई नै उचालिदिएको छ। दुई साता अगाडि नेप्से सूचक १५७८.५० अंकसम्म पुगेको थियो। त्यसयता लगातार घट्ने क्रममा १५४९ अंकसम्म तल झर्याे। तर बिहीबार एकाएक शेयर बजारमा २० अंकको उछाल आउदा १५७१ अंकमा रोकिएको छ। अल्पकालीन बियरिस ट्रेण्ड पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकी राजदूतमा सिफारिस भएसँगै अन्त्य भएको हो।
प्राविधिक विश्लेषकहरुका अनुसार यो बुल तत्काल अधिकतम १६२८ अंकसम्म पुग्न सक्ने छ। आगामी साता शेयर बजार न्युनतम १४९० देखि अधिकतम १६४० अंकसम्म रहने विश्लेषण गरिएको छ। पछिल्लो समय दोस्रो बजारमा प्राविधिक विश्लेषणले बढी प्रभाव पार्ने गरेको छ।
केही समयदेखि बुलिस ट्रेण्डमा अगाडि बढेको बजारमा एक महिनाकै अवधिमा २० प्रतिशतले लगानीकर्ता थपिएका छन्। प्राथमिक बजारमा पनि लगानीकर्ता बढिरहेका छन्। जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा ८ लाख २० हजारको आवेदन परेको छ। पछिल्लो समय प्राथमिक शेयर निष्काशन गर्ने कम्पनीमा प्राथमिक लगानीको नयाँ नयाँ रेकर्ड बन्दै आइरहेको छ। दोस्रो बजारमा एक महिनाकै अवधिमा अनलाइन प्रयोग गर्ने लगानीकर्ता ३५ प्रतिशत पुगेका छन्।
याे सातामा अधिकांश दिन शेयर बजार रातो देखियो। बजारमा करेक्सन हुँदा कारोबार रकम अघिल्लो साताको तुलनामा ६ प्रतिशतले घटेको छ। दोस्रो बजारमा ११ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। वाणिज्य बैंक तथा बिमा कम्पनीको कारोबारमा भारी गिरावट आए पनि विकास बैंक, होटल, फाइनान्स तथा हाइड्रोपावरको कारोबार भने बढेको छ।
यस साता सबैभन्दा धेरै जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो। सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीमा जलविद्युतको मात्रै ५ वटा कम्पनी छ। त्यस्तै सोल्टी होटलको संस्थापक शेयर कारोबार हुँदा सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा परेको छ। राजा ज्ञानेन्द्रको कम्पनीले हङकङको कम्पनीको १० प्रतिशत स्वामित्व खरिद गर्दा कारोबार रकम बढेको हो।
आधार मूल्यभन्दा धेरै तल रहेका जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिएका हुन्। कतिपय राम्रा कम्पनीको शेयर मूल्य पनि आधार मूल्यभन्दा तल छन्। यसले गर्दा सुधार भइरहेको बजारमा साना लगानीकर्ताहरु थोरै मूल्यका कम्पनीमा केन्द्रित भएका हुन्। हाल दोस्रो बजारमा सूचीकृत कम्पनीको बजार मूल्यका आधारमा कुल बजार पुँजीकरण २० खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ।
बजार सुधार हुने ट्रेण्डमा रहँदारहदै पनि आगामी साता पहिलो त्रैमासका लागि लगानीकर्ताले कर व्याज र किस्ताको जोहो गर्न खोजे पनि बजार सुधार भने पनि घट्न सक्ने सम्भावना रहन्छ। गएका दिनमा शेयर खरिद गरेकाले नाफा बुक गर्ने उपयुक्त अवसर खोजिरहेको अवस्थामा बजार घट्न पनि सक्ने विश्लेषकहरु बताउछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।