काठमाडौं–निजी हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले पुनः १२ वर्षपछि सिमरा उडान गर्ने भएको छ। एयरलाइन्सले यही असोज २१ गतेबाट सिमरा उडान गर्ने जनाएको छ। सन् २००८ मा काठमाडौं–सिमरा उडान भरेको यती एयरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ (अक्टोबर ७) देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो।
एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी गराएका छन्।
‘सिमरा उडान भर्नेबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडानमार्फत् सेवाविस्तार गर्नेछौं,’ उनले भने, ‘विविध कारणले स्थगित भएको उडान १२ वर्षपछि पुनः सञ्चालन गर्न लागेका छौं। उक्त गन्तव्यमा उडान हुनेछन् र यात्रुको मागबमोजिम उडान संख्या थपिनेछ।’
यतीले सिमरामा जेटस्ट्रीम–४१ विमानमार्फत् प्रत्येक दिन बिहान ९ बजे र साँझ ४:४५ बजे काठमाडौंदेखि उडान भर्ने भएको छ। प्रमोशनल भाडा काठमाडौं–सिमरा–काठमाडौंको एकतर्फी दुई हजार आठ सय तोकिएको छ।
२०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एयरलाइन्समा हाल एटिआर–७२ सीट क्षमताका ५, जेटस्ट्रिम–३० सीटका ५ र भगिनी संस्था तारा एयरका ट्वीनवटर विमान ४ गरी १४ विमान सञ्चालनमा रहेका छन्।
एयरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौं र पोखराबाट पर्वतीय उडान तथा तारा एयरले दुर्गम हिमाली तथा पहाडी भागलुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुराजस्ता विमानस्थलमा उडान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।