काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इन्डियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिएको ग्राउन्ड ह्यान्डलिङको अनुमति फिर्ता लिने भएको छ।
सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी दिएपछि सो विषयमा आलोचना भइरहेका बेला प्राधिकरणले थाइ र एयर इन्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो।
बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिरकणका महानिर्देशक राजन पोखरेलले आफ्नो ग्राउन्ड ह्यान्डलिङ आफै गर्ने गरेका थाइ एयर र एयर इन्डियाको अनुमति फिर्ता लिने बताएका हुन्।
अहिले कोरोनाका कारण ती विमान कम्पनीका अधिकारीहरूसँग वार्ता गर्न सम्भव नभएकाले छिट्टै वार्ता गरी अनुमति फिर्ता दिइने उनले बताए।
‘अब थाइ एयर र एयर इन्डियाले ग्राउन्ड ह्यान्डलिङको मौका दिने पक्षमा हामी छैनौं। अहिले कोभिडको बेला छ। छलफल गरेर तपाईहरुले सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न पाउनुहुन्न। तपाईको क्राइट एरिया मिट गर्दैन भन्छौं। अब हाम्रो ग्राउन्ड ह्यान्डलिङ सेवा दिने प्रदायक नेपाल सेवा निगम मात्रै हो यो कुरामा भ्रममा नपर्नुहोस,’ पोखरेलले भने।
उनले काठमाडौं बेस भएर नयाँ वायुसेवा कम्पनीलाई सञ्चालनको अनुमति नदिने पनि उनले बताए। हिमालय एयरलाइन्सलई नियमअनुसार सेल्फ ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी दिइएकाले राष्ट्रिय मुद्दा बनाउन नहुने बताए।
तर उड्डयनमन्त्री योगेश भट्टराईले भने हिमालयलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति तत्काल कार्यान्वयन नगर्न निर्देशन दिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।