काठमाडौं- विश्व फुटबलमा महत्वपूर्ण मानिने युइएफए च्याम्पियन्स लिग समूह चरणमा कुन-कुन टिम खेल्छन् भन्ने निर्क्योल बिहीबार हुँदैछ। जेनेभामा हुने समूह वर्गीकरण कार्यक्रम नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ। 
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएमा आबद्ध देशका विभिन्न ३२ टिमलाई ८ समूहमा विभाजन गरिने छ। जसमा समूह चरणमा एउटै संघमा आबद्ध देशका टिमलाई एकअर्कासँग राखिने छैन। युक्रेन र रसियाबीच चलिरहेको द्वन्द्वका कारण दुई देशका टिमलाई पनि एउटै समूहमा नराखिने जनाइएको छ। 
च्याम्पियन्स लिगमा ८ समूह विभाजनका लागि अहिले ३२ टिमको नाम विभिन्न चार बट्टामा राखिने छ। जसमा पहिलोमा गएको सिजन च्याम्पियन्स लिग र युरोपा लिगको विजेतासँगै युइएफए आबद्ध शीर्ष ६ देशबाट विजेता टिम राखिने छ। बाँकी तीन बट्टामा युइएफए वरियताकै आधारमा टिमहरुको नाम राखिनेछ। 
जसअनुसार समूह तालिका निर्धारणका लागि पहिलोमा बायर्न म्युनिक, सेभिया, रियल मड्रिड, लिभरपुल, युभेन्टस, पिएसजी, सेन्ट सेन्ट पिटर्सबर्ग र पोर्टो छन्। 
दोस्रोमा बार्सिलोना, एथ्लेटिको मड्रिड, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, शख्तर डोनेस्क, बोरुसिया डोर्टमुन्ड, चेल्सी र आयाक्स छन्। 
तेस्रोमा डायनामो किभ, साल्सबर्ग, लाइपजिग, इन्टर मिलान, ओलम्पियाकोस, लाजियो, क्रस्नोडार र एटलान्टा छन्। 
चौथोमा लोकोमोटिभ मस्को, मार्सेली, क्लब बर्ग, बोरुसिया मोन्चेग्लादबाख, स्तानबुल बासाकेसिर, मिड्जेल्याण्ड, रेनेस र फेरेनजारोस छन्। 
गएको सिजन फाइनलमा पिएसजीलाई हराउँदै बायर्न म्युनिकले च्याम्पियन्स लिग उपाधि जितेको थियो। यो सिजन च्याम्पियन्स लिग समूह चरणका खेल अक्टोवर २० मा सुरु हुने बताइएको छ। 
च्याम्पियन्स लिग समूह छुट्याइने कार्यक्रममा नै गएको वर्षका उत्कृष्ट खेलाडीहरुलाई अवार्ड पनि दिइनेछ। जसमा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडीलगायत विभिन्न १२ विधा छन्। 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।