काठमाडौं- युरोपियन फुटबलको प्रशासकीय निकाय (युइएफए) ले वर्ष उत्कृष्ट खेलाडीलाई दिने युइएफए पुरुष वर्ष खेलाडी अवार्डका लागि अन्तिम छनोटका लागि तीन खेलाडीको नाम सार्वजनिक भएको छ।
जसमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रायन, जर्मन क्लब बायर्न म्युनिकका स्ट्राइकर रोबर्ट लेवान्डोस्की र गोलकिपर म्यानुअल नोयर परेका छन्। तीनमध्ये एक खेलाडीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्ने छन्। अवार्ड २०२०-२१ को च्याम्पियन्स लिग तालिका सार्वजनिक गर्दा अक्टोवर १ मा हुनेछ।
डि ब्रायनले गएको सिजन प्रिमियर लिगमा २० असिस्ट र १३ गोल गरेका थिए। लेवान्डोस्कीले गएको सिजन बायर्न म्युनिकबाट ४७ खेलमा ५५ गोल गरेर युरोपको सर्वाधिक गोलकर्ता बनेका थिए। च्याम्पियन्स लिगमा सर्वाधिक १५ गोल उनकै नाममा रह्यो। यस्तै बायर्नकै गोलकिपर नोयर पनि वर्षको तीन उपाधिमा टिमका लागि महत्वपूर्ण थिए।
यी उत्कृष्ट तीनबाहेक उत्कृष्ट १० खेलाडीको सूचिमा चौथो नम्बरमा बार्सिलोनाका लियोनल मेस्सी रहे। पाँचौँमा पिएसजीका नेमार, छैठौँमा बायर्नका थोमस मुलर, सातौँमा पिएसजीका केलियन एमबाप्पे, आठौँमा गएको सिजन बायर्नमा रहेका थियागो अलकान्टारा, नवौँमा बायर्नकै जोसुवा किमिच र दशौँमा युभेन्टसका क्रिष्टियानो रोनाल्डो रहे।
वर्ष उत्कृष्ट खेलाडी छान्न युरोपमा खेलिरहेका खेलाडीमध्ये एक सिजनभर गरेको खेल प्रदर्शनलाई आधार बनाइएको हुन्छ। जसमा राष्ट्रिय लिग, युरोपियन च्याम्पियन्स लिग र राष्ट्रिय टिमबाट खेलेको खेललाई समेत आधार बनाइन्छ।
जसमा च्याम्पियन्स लिग समूह चरणमा रहेका ३२ टिम प्रशिक्षक, युरोपा लिगमा रहेका ४८ टिम प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडियाले छानेका ५५ देशका ५५ खेल पत्रकारले उत्कृष्ट खेलाडी छनोट गरेका हुन्। उनीहरुले तीन खेलाडीलाई अंक दिएर पहिलोलाई पाँच, दोस्रोलाई तीन र तेस्रोलाई एक अंक दिएका थिए।
वर्ष उत्कृष्ट पुरुष खेलाडीसँगै अरु विभिन्न १२ विधामा समेत अवार्ड दिइनेछ। जसमा अन्तिम तीन मनोनयनमा परेका नाम निम्न छन्,
वर्ष उत्कृष्ट महिला खेलाडी - ब्रोन्ज, हार्डर, रेनार्ड
वर्ष उत्कृष्ट पुरुष टिम प्रशिक्षक - फ्लिक, क्लोप, नागेल्सम्यान
वर्ष उत्कृष्ट महिला टिम प्रशिक्षक - कोर्टेस, लेर्च, म्यासुअर
वर्ष उत्कृष्ट गोलकिपर - नाभास, नोयर, ओबलाक
वर्ष उत्कृष्ट डिफेन्डर - अलाबा, डेभिएस, किमिच
वर्ष उत्कृष्ट मिडफिल्डर - डि ब्रायन, थोमस मुलर, थियागो अलकान्टारा
वर्ष उत्कृष्ट फरवार्ड - लेवान्डोस्की, एमबाप्पे, नेमार
वर्ष उत्कृष्ट महिला गोलकिपर - बोउहाद्दी, एन्डलर, पानोस
वर्ष उत्कृष्ट महिला डिफेन्डर - ब्रोन्ज, गोसेलिङ, रेनार्ड
वर्ष उत्कृष्ट महिला मिडफिल्डर - गनर्सडोटिर, मारोजसान, पोप
वर्ष उत्कृष्ट महिला फरवार्ड - क्यासकारिनो, हार्डर, मिएडेमा
युरोपा लिग वर्ष उत्कृष्ट खेलाडी - बानेगा, ब्रुनो फर्नान्डेस, लुकाकु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।