काठमाडौं–बैक अफ काठमाण्डूले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत लाभांस दिने घोषणा गरेको छ। बैंकले नाफाबाट तीन प्रतिशत नगद लाभांस र १३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो। बुधबार बसेको १६४ औ संञ्चालक समितिको बैठकले २६ औ साधारणसभाबाट पारित हुने गरि उक्त लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकबाट लाभांस वितरणको प्रस्ताव स्वीकृत भएपछि बैंकले साधारणसभा बोलाउन सक्नेछ।
बैंकले कर प्रयोजनसहित २५ करोड ६४ लाख रुपैयाँ नगद लाभांस र एक अर्ब ११ करोड रुपैयाँ बोनस शेयर वितरण गर्नेछ।
बैंकले वितरण योग्य मुनाफाभन्दा बढी लाभांस दिने प्रस्ताव गरेको हो। गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा जम्मा ८८ करोड रुपैयाँमात्रै छ। तर बैंकले नगद तथा बोनस शेयरसहित जम्मा एक अर्ब ३६ करोड रुपैयाँ लाभांस दिने प्रस्ताव अगाडि बढाएको हो। बैंकले वितरण योग्य मुनाफाबाट नगद र बोनश शेयरका लागि जगेडा कोष प्रयोग गर्ने भएको छ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५४ करोड रुपैयाँ छ। एक अर्ब ११ करोड रुपैयाँ बोनस शेयरपछि चुक्ता पुँजी ९ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।