काठमाडौं–नेपाल धितोपत्र बोर्डले शेयर बजारमा कालोधन प्रयोग भए नभएको हेर्न सुपरीवेक्षण म्यानुअल तयार पारेको छ। बोर्डले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७६ मा भएको व्यवस्था कार्यान्वयन गर्न ‘सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७’ तयार पारि कार्यान्वयनमा ल्याएको छ।
यो निर्देशन आज बिहीबारदेखि लागू हुने बोर्डले जनाएको छ। सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास अनुरुप फाइनान्सियल एक्सन टास्क फोर्स तथा एशिया प्रशान्त समूहको मापदण्डहरुलाई समेत आधार मानि यो म्यानुअल तयार पारिएको बोर्डले जनाएको छ।
सुपेरीवेक्षणपछि धितोपत्र व्यवसायीको संरचनागत तथा अन्तर्निहित जोखिम तथा जोखिम व्यवस्थापनलाई रेटिङ स्केल एक देखि ५ को बीचमा गर्ने व्यवस्था गरिएको छ। धितोपत्र व्यवसायीको स्थलगत तथा गैरस्थलगत सुपरीवेक्षणसम्बन्धी विषय समावेश गरिएको छ। धितोपत्र व्यवसायीहरुबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैरस्थलगत जोखिम मूल्यांकलन गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
यो म्यानुअल लागू भएपछि बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीहरुको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित कानुनमा भएको व्यवस्थालाई अझ प्रभावकारी रुपमा अनुगमन एवं निरीक्षण गर्न तथा व्यवसायीहरुको सम्पत्ती शुद्धिकरण निवारणसम्बन्धी कामकारबाही थप नियमित तथा व्यवस्थित भइ लगानी मैत्री तथा पारदर्शी धितोपत्र बजारको विकासमा टेवा पुग्ने बोर्डले अपेक्षा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।