काठमाडौं-माछापुच्छ्रे बैंकले कात्तिक ६ गते बाइसौं वार्षिक साधारणसभा डाकेको छ। बैंकले दसैंअगाडि नै शेयरधनीलाई नगद लाभांस दिने गरि साधारणसभा डाकेको हो। कात्तिक ६ गते साधारणसभा सम्पन्न हुनेवित्तिकै कम्पनीले एक-दुइ दिनमै शेयरधनीको खातामा नगद लाभांस प्रदान गर्न सक्नेछ।
साधारणसभामा बैंकले गत वर्षको नाफाबाट ३.३७ प्रतिशत नगद लाभांस र ७.०३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव लग्नेछ। बैंकले कर प्रयोजनसहित २८ करोड ५० लाख रुपैयाँ नगद लाभांस दिनेछ। त्यस्तै ५९ करोड ४६ लाख रुपैयाँ बोनस शेयर प्रदान गर्नेछ। असोज २१ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांस प्राप्त गर्नेछन्।
बैंकले सर्वसाधारण समूहतर्फका तीन जना संञ्चालकको निर्वाचन गर्ने भएको छ। साधारणसभा पोखरामा आयोजना गरेको छ। शेयरधनीले अनलाइनबाटै साधारणसभामा भाग लिन पाउनेछन्। जुमबाटै साधारणसभामा सहभागी हुन पाउने बैंकले जनाएको छ। यसका लागि शेयरधनीले आफ्नो डिम्याट खाता प्रदान गरि जुमको पासवर्ड लिन सक्ने छन्।
लेखापरीक्षण पछि बैंकको नाफा एक अर्ब २६ करोड रुपैयाँ रहेको छ। चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा बैंकको नाफा एक अर्ब २६ करोड रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।