काठमाडौं- कोभिड- १९ को संक्रमणका कारण १८ वटा म्युचुअल फण्डले भौतिक उपस्थिति सहितको सेवा बन्द गरेका छन्। मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीलाई संक्रमण देखिएपछि १८ वटै म्युचुअल फणडले संयुक्त रुपमा सूचना जारी गर्दै ग्राहकहरुलाई कार्यालयमा नआउन अनुरोध गरेका छन्।
संक्रमणको उच्च जोखिम रहेको भन्दै मर्चेन्ट बैंकहरुले अनलाइन प्रणालीबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रवाह गर्ने भएका हुन्। भौतिक रुपमा उपस्थित भई अत्यावश्यक सेवा लिनुपर्ने अवस्थामा ग्राहकहरुले मर्चेन्ट बैंकको इमेल एड्रेस तथा फोनमार्फत् सम्पर्क गर्न सक्नेछन्।
कार्यरत कर्मचारीमा कोरोना संक्रमण भई कार्यालय बन्द गर्ने मर्चेन्ट बैंकहरुमा बिओके क्यापिटल, सिविआइएल क्यापिटल, सेञ्चुरी क्यापिटल, सिभिल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, हिमालयन क्यापिटल, कृति क्यापिटल, कुमारी क्यापिटल, लक्ष्मी क्यापिटल, मेगा क्यापिटल, मुक्तिनाथ क्यापिटल, नविल इन्भेष्टमेन्ट बैंकिङ, नेशनल मर्चेन्ट, नेपाल बंगलादेश क्यापिटल, नेपाल एसबिआई मर्चेन्ट, एनआइविएल एस क्यापिटल, एनआइसी एशिया क्यापिटल, एनएमबी क्यापिटल, प्रभु क्यापिटल, आरविवि मर्चेन्ट, सानिमा क्यापिटल, सिद्धार्थ क्यापिटल र सनराइज क्यापिटल रहेका छन्।
ग्राहकका लागि कार्यालय बन्द गरे पनि मर्चेन्ट बैंकले दिने सुविधा भने निरन्तर भइरहने छ। पछिल्लो समय केही कम्पनीले प्राथमिक शेयर निष्काशन गर्दा मर्चेन्ट बैंकमा डिम्याट खाता खोल्ने तथा मेरो शेयरको खाता खोल्नेको भीड लाग्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।