काठमाडौं– चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे कूटनीतिक मर्यादाविपरीत नेपाल–भारत सम्बन्धबारे टिप्पणी गरेपछि विवादमा तानिएका छन्। नेपाल सरकारको परराष्ट्रमन्त्री भइसकेका पाण्डेले चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा भारतबारे नकारात्मक टिप्पणी गरेका थिए।
‘सामान्यतया कुनै देशका लागि एक राजदूतले अर्को देशसँगको सम्बन्धको बारेमा नकारात्मक कुरा गर्न पाउँदैनन्। यद्यपि बोलिएका कुराहरु तथ्यपरक नै किन नहुन्’ पूर्वपरराष्ट्र सचिव तथा कूटनीतिक मामिला–विज्ञ मधुरमण आचार्यले कसैको नाम नतोकी तर राजदूत पाण्डेको विवादकै सरोफेरोमा ट्विट गर्दै भनेका छन्, ‘तर आजकल कसले ख्याल राख्छ?’
ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा राजदूत पाण्डेले ‘भारत नेपालको सीमा मिच्न उद्धत रहेको अनेक घटनाक्रमले पुष्टि गरेको’ भन्दै भारतको आलोचना गरेका थिए। उनले भारतीय सञ्चार माध्यमहरुले नेपाल र चीनबीचको सम्बन्धमा दरार पैदा गर्न गलत र झुटा समाचारहरु दिइरहेको समेत दाबी गरेका छन्।
पाण्डेले जिकिर गरेका कुराहरु वस्तुपरक भए पनि राजदूतका हैसियतमा तेस्रो देशबारे गरिएका यस्ता टिप्पणीहरु मर्यादाअनुकुल नभएको भन्दै कतिपय राजनीतिक नेताहरुले समेत उनको आलोचना गरेका छन्। ‘चीनका लागि नेपाली राजदूतले ग्लोबल टाईम्समा दिनुभएको अन्तर्वार्तामा व्यक्त विचार र भाषा कूटनीतिज्ञको मर्यादाविपरीत छ’ कांग्रेस नेता गगन थापाले पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ध्यानाकर्षण गराउँदै ट्विट लेखेका छन्, ‘ मन्त्रीज्यू राजदूतको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो? होईन भने परराष्ट्र मन्त्रालायले आफ्नो धारणा स्पष्ट गरोस्।’
अन्तराष्ट्रिय सम्बन्धजस्तो संवेदनशील विषयमा राजदूतबाट हलुका टिप्पणी सदा अवाञ्छनीय हुने भन्दै नेता थापाले थपेका छन् ‘यतिखेर भारत–चीन, नेपाल–भारत र नेपाल–चीन सम्बन्ध यथास्थितिभन्दा अलि फरक र जटिल बन्दै गएको छ। यो समयमा राजदूत पाण्डेको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको कूटनीतिक कौशलमा समेत प्रश्न उठाउँछ।’
पछिल्ला दिनमा नेपाल–भारत सम्बन्ध अलिक धमिलिएको र कतिपय विषयमा अविश्वास गहिरिँदै गइरहेका बेला एउटा दलको केन्द्रीय नेता भइसकेको र देशको पराराष्ट्रमन्त्री भइसकेको व्यक्ति राजदूत बनेर हलुका टिप्पणीतिर लाग्नु राम्रो संकेत नभएको समेत विज्ञहरुको भनाइ छ। ‘नकारात्मक टिप्पणीहरु कूटनीतिक सिद्धान्तमा पर्दैनन्। सम्बन्धको संवेदनशीलता ख्याल गरेर बोल्नुपर्छ’, परराष्ट्र मामिलाका अर्का विज्ञ दिनेश भट्टराईका शब्दमा, ‘उहाँले नबुझेको हो भन्ने मलाई लाग्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।