काठमाडौं–सरकारले असोज पाँच गतेबाट सुरु गरेको आन्तरिक उडानको संख्या बढाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका स्रोतका अनुसार असोज १५ गते बिहीबारबाट लागू हुने गरी आन्तरिक उडानको संख्या बढाइएको हो। तर यो संख्यामा अझै वृद्धि हुनसक्ने प्राधिकरणको भनाइ छ। संख्या थपघट गर्ने अधिकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई समेत दिइएको छ।
आन्तरिक उडान खुलेसँगै हवाई यात्रुको चाप निरन्तर बढिरहेको थियो। यसअघि प्राधिकरणले २५ प्रतिशत उडान गर्दै आएको थियो भने अहिले बढाएर ३५ देखि ४० प्रतिशत उडान पुर्याउने गरी उडान संख्या बढाइएको छ।
प्राधिकरणका अनुसार यसअघि बुद्धले दैनिक १८ उडान गर्दै आएको बिहीबारदेखि २५ उडान गर्न पाउने छ भने १२ उडान अनुमति पाएको यतीले अब दैनिक १८ उडान गर्न पाउने भएको छ।
यसैगरी श्रीले पहिले ६ वटा उडानको अनुमति पाएकोमा अब दैनिक १२ वटा गर्न पाउने भएको छ। यसैगरी सिम्रिक र सौर्यलाई भने दैनिक २ वटा उडानको अनुमति दिइएको छ।
साथै दुर्गमका उडान गर्ने सीता, तारा र समिटले पनि अब दैनिक ४/४ वटा उडान गर्न पाउने प्राधिकरणले जनाएको छ।
यो उडान अक्टोबरभरिका लागि लागू हुने प्राधिकरणले जनाएको छ। हवाई सेवा प्रदायक कम्पनीहरुले हवाई यात्रुको चाप थेग्न नसकेको भन्दै उडान संख्या बढाउन प्राधिकरणमा लिखित निवेदन समेत दिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।