चितवन–जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। राप्ती नगरपालिका २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा सेनाको हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई भदौ ४ गते पक्राउ गरी आवश्यक छानबिन भइरहेको छ। उनलाई अदालतबाट म्याद थप गरी बयान लिने र थप अनुसन्धान गर्ने उनले उनले जानकारी दिए। बुढाविरुद्ध मृतक राजकुमारका बुबा विष्णुलाल चेपाङले भदौ २५ गते किटानी जाहेरी दिएका थिए।
आरोपीको मौखिक बयानमा घटनाको इन्कारी बयान दिएकाले पोलिग्राफ परीक्षणसमेत गर्ने तयारी प्रहरीले गरेको छ। चितवन राष्ट्रिय निकुञ्जका सैनिकद्वारा कुटपिटपश्चात चेपाङको मृत्यु भएको आरोप लगाइएको छ ।
राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए। सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच जना पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलालाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको पीडितहरुले आरोप लगाएका छन्।
राप्ती नगरपालिका–२, मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजामाथि समेतलाई कुटपिट भएको थियो । छुटेर आएदेखि बिरामी भएका राजकुमारको स्थानीय मेडिकलमा उपचार गराइरहेका थिए । मेडिकलको उपचारले निको नभएपछि भरतपुर अस्पताल ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।