काठमाडौं-जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा मागभन्दा साढे ६ गुणा बढी आवदेन परेपछि आजदेखि निष्काशन बन्द गर्ने भएको छ। कम्पनीले सर्वसाधारण तर्फको ३० लाख कित्ता शेयर निष्काशन गरिरहेको छ।
उक्त शेयरका लागि ६ लाख ८२ हजारले एक करोड ९१ लाख कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ६.३९ गुणा बढी आवदेन हो। आवदेन दिन बाँकी लगानीकर्ताले १० कित्ताभन्दा बढीका लागि आवदेन दिनु पर्दैन। कर्मचारी र सामूहिक लगानीकोषलाई बाँडफाँट गरेर बाँकी रहेको शेयर १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख ७३ हजार जनाले प्राप्त गर्ने छन्। बाँकी लगानीकर्ताको हात खाली रहनेछ। कम्पनीले गोलाप्रथाबाट प्राथमिक शेयर बाँडफाँट गर्नु पर्ने हुन्छ।
प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटल रहेको छ। सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्। मेरो शेयरमा खाता हुनेले अनलाइनबाटै आवेदन दिन मिल्नेछ।
प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारणको ३० प्रतिशत र संस्थापकको ६० प्रतिशत कायम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।