काठमाडौं- चीनसँगका नाका खोल्ने र पारवहन सम्झौता कार्यान्वयन गर्नेलगायत ६ विषयमा सहमति भएको छ। मंगलबार नेपाल–चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल रुपमा सम्पन्न भएको पहिलो बैठकमा यस्तो सहमति भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकले पारवहन ढुवानी सम्झौताको कार्यान्वयन, व्यापार सहजीकरण, सीमा वारपार आर्थिक क्षेत्र स्थापना, बन्द नाका खोल्ने तथा व्यापार पूर्वाधार विकास निर्माणमा सहयोग गर्ने लगायत विभिन्न ६ विषयमा सहमति भएको छ।
मन्त्रालयका अनुसार दुवै मुलुकले आपसी सहयोग र अन्तरनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति भएको छ।
साथै नेपाल–चीन बीचका तातोपानी र रसुवागढीमा कोभिड–१९ को सङ्क्रमणबाट बच्ने सबै उपायहरु अपनाई नाका सुचारु गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको जनाइएको छ।
नेपाल र चीनबीच पारवहन–ढुवानी सम्झौताको कार्यान्वयनका लागि दुवै पक्षबाट आवश्यक पहल गर्ने पनि सहमति भएको छ। पारवहन ढुवानी सम्झौता, २०१६ र यसको प्रोटोकल, २०१९ को कार्यान्वयनको गर्ने र व्यापार सहजीकरणका लागि रसुवाको टिमुरेस्थित सीमा जाँच स्टेसन र सुख्खा बन्दरगाह निर्माण गर्ने विषयमा छलफल भएको थियो।
त्यस्तै १८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य पदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सूचीकृत गर्ने विषयमा पनि सहमति भएको छ। त्यसका लागि नेपालमा वनस्पति र पशुजन्य वस्तुहरुको जाँच गर्न प्रयोगशाला स्थापना गर्न दुवै पक्ष सहमत भएका छन्।
नेपालबाट चीन निकासी गरिने खाद्य वस्तुहरुमा लेवलिङ्ग गर्ने विषयमा पनि दुईपक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा चीनियाँ लगानी र व्यापारको लागि वातावरण विकास गर्ने, स्याफ्रुबेंसी–रसुवा सडक मर्मत सम्भार र स्तरोन्नती गर्ने, नेपाल–चीन सीमा नजिक सीमा वारपार आर्थिक क्षेत्र स्थापना गर्ने, व्यापार पूर्वाधार विकासमा सहयोग सम्बन्धी विषयमा पनि छलफल भएको जनाइएको छ।
नेपाल–चीन बीचका तातोपानी र रसुवागढी दुईवटा अन्तर्राष्ट्रिय नाकाहरु सुचारु गर्ने सहमति भएको छ भने मुस्ताङ्गको कोराला नाकामा एकीकृत सीमा जाँच स्टेसन निर्माणको लागि चीनियाँ पक्षलाई अनुरोध गर्ने र दुईपक्षीय सीमा बिन्दु ओलाङ्चुङ्गोला र किमाथाङ्कामा व्यापार पूर्वाधारको लागि संयुक्त रुपमा सम्भाव्यता अध्ययन गर्ने पनि सहमति भएको छ।
त्यस्तै सत्रौं नेपाल–चीन आर्थिक व्यापार मेला र चीनमा आयोजना हुने तेश्रो अन्तर्राष्ट्रिय आयात प्रदर्शनी मेलामा नेपालले सहभागिता जनाउने पनि सहमति भएको छ।
दुवै देशका ११/११ जना प्रतिनिधि रहेको उक्त कार्यदलमा नेपालतर्फबाट उक्त बैठकको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं नेपाल–चीन व्यापारको संयुक्त कार्यदलका संयोजक प्रकाश दाहालले गरेका थिए भने चीनकोतर्फबाट चीनियाँ वाणिज्य मन्त्रालयको एशिया मामिला विभागका महानिर्देशक पेङ् गाङ्ले नेत्तृत्व गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।