धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको हितमा काम गर्न नसकेको भन्दै प्रतिष्ठानका फ्याकल्टी (शिक्षक चिकित्सक)हरूले बर्खास्त गर्न माग गरेका छन्।
प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको नेतृत्वमा गत बिहीबारदेखि उपकुलपतिको कार्यालय अगाडि आन्दोलन गर्दै आएका प्रतिष्ठानका सिनियर प्राध्यापक तथा चिकित्सकहरुले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिँदै उपकुलपति गिरीलाई बर्खास्त गर्न मागेका हुन्।
समाजका अध्यक्ष डा विष्णु पोखरेलले फ्याकल्टीका न्यूनतम मागसमेत पूरा गर्न नसक्ने उपकुलपतिबाट प्रतिष्ठानको हित नहुने भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको बताए। उनले भने, ‘हामीले डेढ वर्ष कुरिसक्यौं तर आश्वासन बाहेक केही पाएनौं। अबको आन्दोलन भने माग पूरा नभएसम्म जारी रहन्छ।’
भदौ १९ गते समाजले लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया शुरु गर्नुपर्ने, वृद्धि भएको तलब उपलब्ध गराउनुपर्नेलगायतका माग राखेर प्रतिष्ठान प्रसासनलाई माग पत्र बुझाएको थियो। तर पटकपटक आन्दोलन गर्दापनि आश्वासन बाहेक केही नपाएपछि निर्णायक आन्दोलनमा उत्रिएको अध्यक्ष डा पोखरेलको भनाइ छ।
आन्दोलनमा प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष प्रा.डा.विक्रमप्रसाद श्रेष्ठ, सिनियर चिकित्सकहरु प्रा.डा.रविन मास्के, प्रा.डा.विक्रम प्रधान, प्रा.डा. नरेन्द्र भट्टलगायत सहभागी छन्। मंगलबारको धर्ना कार्यक्रममा बोल्दै प्रा डा रविन मास्केले आन्दोलनमा उत्रिएका आफ्ना साथीहरुलाई प्रतिष्ठानको व्यवस्थापन पक्षबाट धम्की समेत आएको बताए।
प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले फ्याकल्टीहरुका माग जायज रहेको बताउँदै हाल उपकुलपति आइसोलेसनमा रहेकाले त्यहाँबाट निस्किएपछि छलफल गरेर माग पूरा गर्ने बताए। उनले भने, ‘उहाँहरुका माग सम्बोधन हुनुपर्छ भन्नेमा म पनि सहमत छु। चाँडै निष्कर्ष निस्किन्छ भन्ने आशा छ।’
जुनियर रेजिडेन्ट डाक्टरपनि असन्तुष्ट
प्रतिष्ठानका जुनियर रेजिडेन्ट (जेआर)चिकित्सकहरुले पनि केही दिनअघि मात्र आन्दोलन स्थगित गरेका छन्। कोभिड अस्पतालमा खटेका जेआरहरुलाई गुणस्तरहीन खाना दिइएको, ड्युटी व्यवस्थित रुपमा नमिलाईएको, क्वारेन्टाइन पनि अव्यवस्थित भएको भन्दै सुधारका लागि गत भदौ ५ गते मागपत्र बुझाएको जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले ती माग अझै पूरा नभएको भन्दै भदौ २८ देखि आन्दोलन थालेको थियो।
सोसाइटीका महासचिव गणेश फुलाराका अनुसार हाल प्रतिष्ठानसँग खाना, बस्ने र ड्युटीका मागका विषयमा सहमती भएको तर जोखिम भत्ताको माग अझै पुरा नभएको बताए। उनले जोखिम भत्ताको माग पुरा नभए सरकारविरुद्ध पनि आन्दोलनमा जाने बताए। महासचिव फुलारा भन्छन्, ‘मन्त्रालयका र सरकारी अस्पतालका कर्मचारीहरुले जोखिम भत्ता खाइरहेका छन्। हामी दिनरात खट्नेलाई विभेद गरिएको छ। त्यसैले हाम्रो आन्दोलन सकिएको छैन, स्थगित मात्र भएको हो।’
महासचिव फुलाराले प्रतिष्ठानको नेतृत्वको कार्यशैली ठिक नभएकाले दिनरात खट्ने स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिनु परेको बताए। उनी भन्छन्, ‘उपकुलपतिले आइसोलेसनमा बसेरै जथाभावी सरुवा र नियुक्ति गर्न मिल्ने तर हाम्रा न्यूनतम मागहरु पूरा गर्न नमिल्ने भन्ने पनि हुन्छ?’
आइसोलेसनबाटै नियुक्ति र सरुवा
प्रतिष्ठानका उपकुलपति गिरी कोरोना संक्रमण भएर आइसोलेसनमै बसेका बेला कर्मचारीहरुको जथाभावि सरुवा, नियुक्ति गरेपछि उनी विवादमा परेका छन्। अझ प्रतिष्ठानकै खरिदमा भ्रष्टाचार मुद्दा खेपिरहेका व्यापारीसँग बिना टेन्डर डेढ करोडको मेडिकल सामग्री खरिद गरेपछि उनी विवादमा तानिएका छन्।
उपकुलपति गिरीले अन्य पदाधिकारीसँग सल्लाह समेत नगरी आइसोलेसनबाटै प्रतिष्ठानका कर्मचारीहरुलाई सरुवा गरिरहेका छन्। गिरीले प्रतिष्ठानको खरिद शाखाका प्रमुख विष्णु चापागाईलाई असोज ६ गते सरुवा गरेर फ्याकल्टी ब्लकमा पठाए। खरिद शाखामा सरुवा भएको साढे ३ महिनामै उनको सरुवा गरिएको हो। उनको ठाउँमा अशोक साहलाई नियुक्त गरिएको थियो।
प्रतिष्ठान स्रोतका अनुसार गैरकानुनी खरिद प्रक्रियाको चापागाईंले विरोध गर्दै आएका थिए। प्रतिष्ठानकै समान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका विवादित व्यापारी चेतन अग्रवालसँग उपकुलपति गिरीले कोभिड १९ अस्पतालका लागि बिना प्रतिष्पर्धा डेढ करोडको समान खरिद गरेका थिए।
सो खरिद गैरकानुनी हुने भन्दै विरोध गरेका खरिद शाखा प्रमुखलाई उनले सरुवा गरेर आफू अनुकुल कर्मचारी ल्याएको प्रतिष्ठान स्रोतले जनाएको छ।

मंगलबार आन्दोलनमा उत्रिएका सिनियर चिकित्सकहरु।
उपकुलपति गिरीले गत शुक्रबार प्रतिष्ठानको सिभिल इन्जिनियरिङ विभागका प्रमुख इन्जिनियर मदनकुमार साहलाई पनि हटाएर उनी भन्दा जुनियर ओभरसियर स्तरका विकास बस्याललाई प्रमुखको जिम्मेवारी दिएका छन्। यो सरुवा तथा नियुक्तीमा पनि विवाद उत्पन्न भएको छ। साहले आफुलाई बिना जानकारी अकस्मात हटाएको चिठी पठाइएको बताए। उनले भने, ‘उपकुलपतिज्यू आइसोलेसनमा हुनुहुन्छ, उहाँको स्वकीय सचिवले मेरो कोठामै आएर चिठी दिए। मलाई किन हटाइयो भन्ने बुझ्ने अवसर समेत पाइएन।’
यसअघि बिना जानकारी मेट्रोन उपेन्द्र यादवलाई पनि हटाएर गायत्री राईलाई नियुक्त गरिएको थियो। मूल्याङकन समिति सदस्यसमेत रहेका कानुनी सल्लाहकार अश्विनीकुमार भट्टराईलाई नियुक्ति गरेको एक महिनामै गत बुधबार बिदा दिएको छ। गैरकानुनी खरिदका विषयमा आएको दबाब झेल्न नसकेर कोभिड अस्पतालकी प्रमुख डा.कृष्ण पोखरेलले राजीनामा दिएकी थिइन्।
उपकुलपति गिरीले प्रतिष्ठानको ऐनमै व्यवस्था नभएको प्रेस संयोजक पदमा नेकपा निकटका रेडियो पत्रकार शिशिर राईलाई नियुक्त गरेपछि यो नियुक्ति पनि विवादमा परेको छ। उपकुलपति गिरीले आइसोलेसनबाटै एक वर्षका लागि प्रेस संयोजक नियुक्त गरेका हुन्। प्रतिष्ठानका एक चिकित्सक भन्छन्, ‘हामीलाई तलब दिन सकेको छैन तर जथाभावी पद सिर्जना गरेर कार्यकर्ता भर्ती गर्ने काम भएको छ।’
कर्मचारी नियुक्ति वा सरुवा गर्नुपर्दा उपकुलपतिले अन्य पदाधिकारीसँग छलफल समेत गरेका छैनन्। कर्मचारी नियुक्ति गर्दा रजिष्ट्रारको सिफारिसमा उपकुलपतिले नियुक्त गर्ने प्रचलन रहेपनि उपकुलपतिले आफूखुसी नियुक्त गरेको आरोप लाग्ने गरेको छ। कर्मचारी सरुवा र नियुक्तिमा उपकुलपतिका स्वकीय सचिव दीलिप भट्टराईको सक्रियता रहेको कर्मचारीहरु बताउँछन्।
यस विषयमा बुझ्न पटकपटक सम्पर्क गर्दा पनि उपकुलपति गिरीले फोन उठाएनन्। उनका स्वकीय सचिव दिलिप भट्टराईले भने कर्मचारीहरूको सरुवा र नियुक्ति नियमित प्रक्रिया भएको बताए। उनले भने, ‘कार्य क्षमताका आधारमा पनि सरुवा र नियुक्ति हुने हो। प्रतिष्ठानको हितका लागि आवश्यक कर्मचारीहरुको सरुवा र नियुक्ति भएको हो। यसमा अन्यथा मान्नु पर्ने कारण छैन।’
प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले आफू प्रतिष्ठानको काममा काठमाडौं गएर भर्खरै फर्किएको र आइतबार मात्र जानकारी पाएको बताए। उनले भने, ‘मलाई यो विषयमा खासै थाहा छैन, भर्खर पत्र भने पाएको छु। उपकुलपति आइसोलेसनमा भएकाले त्यहाँबाट फर्किएपछि छलफल गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।