काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर निष्काशन (आइपिओ)को प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले ७५ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ।
आइपिओ निष्काशन सम्झौतापत्रमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्। कम्पनीले प्राथमिक सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ।
बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्न सक्नेछ। यसका लागि अझै केही समय लाग्नेछ।
कम्पनीको चुक्तापूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ। ७५ करोडको आइपिओ पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ। नयाँ अनुमति पाएका १० जीवन बीमा कम्पनीमध्ये अहिलेसम्म रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै प्राथमिक सेयर निष्काशन गरेको छ।
बीमा ऐनअनुसार जीवन बीमा कम्पनीहरुले चुक्ता पुँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्नुपर्छ। त्यसैले बाँकी ९ वटा कम्पनीले पनि यसै वर्षभित्रमा प्राथमिक सेयर निष्काशनको प्रकृयाँ अगाडि बढाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।