काठमाडौं- नेपाल ल्युब आयलले स्थापनाको ३७ वर्षको अवधिमा ८ अर्ब ८१ करोड रुपैयाँको लाभांश वितरण गरिसकेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्दैछ। गत वर्षको नाफाबाट २६ लाख ९४ हजार रुपैयाँ नगद लाभांश प्रदान गरेसँगै नेपाल ल्युव आयलको अहिलेसम्मको लाभांश ९ अर्ब रुपैयाँ नाघ्नेछ।
सवारी साधनमा प्रयोग हुने लुब्रिकेन्टको उत्पादन गर्ने नेपाल ल्युव आयलको स्थापना सन् १९८३ मा भएको थियो। कम्पनीले स्थापना भएको लामो समय राम्रो लाभांस वितरण गर्न सकेको थिएन। कम्पनीले २०५१/५२ देखि २०५५/५६ सम्मको नाफाबाट ९० प्रतिशत लाभांश दिएको थियो।
गएका वर्षमा पनि राम्रो लाभांश दिँदै आएको कम्पनीले कोभिडका कारण यस वर्ष भने १० प्रतिशतमात्रै दिने भएको छ।
कम्पनीमा सबैभन्दा धेरै एबिबी इन्भेष्टमेन्ट कम्पनीको ३९.९२ प्रतिशत शेयर रहेको छ। कम्पनीले १० लाख ७५ हजार रुपैयाँ नगद लैजानेछ। त्यस्तै नेपाल आयल निगमको १४.५० प्रतिशत रहेको छ। नेपाल आयल निगमले तीन लाख ९० हजार रुपैयाँ नगद लैजानेछ। सर्वसाधारणको ३२.७० प्रतिशत शेयर पुँजी रहेको छ। यस आधारमा सर्वसाधारणले ८ करोड ८१ लाख रुपैयाँ नगद पाउने छन्। शेयरधनीले दशै अगाडि नै नगद लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले कात्तिक ५ गते २९ औ वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज २२ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्नेछ। भदौ २१ गतेसम्म कायम शेयरधनीले लाभांस पाउन सक्नेछन्।
साधारणसभा भर्चुअल जुम मिटिङमार्फत् गर्नेछ। साधारणसभामा हालको तीन करोड रुपैयाँको जारी पुँजी वृद्धि गरी ५ करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव लगिने भएको छ। कम्पनीको चुक्ता पुँजी २ करोड ६९ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा १५ करोड रुपैयाँ भन्दा माथि रहेको छ। कम्पनीको अध्यक्षमा अरुण कुमार चौधरी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।