काठमाडौं- सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित सरस्वती माविले मंगलबार भर्नासम्बन्धी सूचना निकाल्यो। सूचनामा २०७७ असोज २० गते पछि भर्ना लिन विद्यालय बाध्य नहुने उल्लेख गरिएको छ। तर विद्यालयको यस्तो सूचना भने शिक्षा मन्त्रालयको निर्देशनविरीत छ।
शिक्षा मन्त्रालयले हालै जारी गरेको ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७’ मा असोज दोस्रो हप्तासम्म विद्यार्थी भर्ना गर्न भनेपनि त्यसपछि भर्ना बन्द नै गर्ने भन्ने विषय उल्लेख छैन।
‘नेपाल सरकार शिक्षा मन्त्रालयको सूचनाअनुसार शैक्षिक सत्र २०७७ को बाल कक्षादेखि १२ कक्षासम्म छात्रछात्राहरुलाई अनिवार्य रुपमा २०७७/६/२० गतेसम्ममा गरिसक्नुपर्नेछ। सोपश्चात् विद्यार्थीको रेकर्ड अनलाइन गर्न नसकिने भएको हुँदा भर्ना हुन नसकेका विद्यार्थीलाई पुनः भर्ना गर्न विद्यालय बाध्य हुने छैन,’ विद्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

ईश्वरपुर नगरपालिकाका विद्यालय निरीक्षक (विनि) रामाधार कुशवाहले विद्यालयले भर्ना लिन्न भन्न नपाइने बताए। ‘तोकिएको समयमा भर्ना हुन विद्यालयले आह्वान गर्ने हो,’ विनि कुशवाहले भने, ‘भर्ना नहुन आएकालाई भर्ना गर्न वातावरण मिलाउने हो। सरसस्वती माविले किन त्यस्तो सूचना निकालेको हो बुझ्छु। कोही पनि भर्ना हुनबाट बञ्चित हुन पर्दैन।’
मानव स्रोत तथा विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले विद्यालयले तोकिएको समयमा भर्ना लिनु दायित्व भएको तर यो महामारीको बेला भर्ना हुन नसकेकालाई भर्ना लिन बाध्य छैनाैं भन्न नपाइने बताए। ‘शिक्षा मन्त्रालयले निकालेको सूचनामा असोज दोस्रो हप्ता भर्ना लिइ सक्न भनेको हो,’ दाहालले भने, ‘त्यसभन्दा पर आएको खण्डमा भर्ना लिन नपाइने भनेको होइन। यो महामारीको बेला विद्यालयले यस्तो सूचना निकाल्न हुँदैनथ्यो।’ समयसीमा कै कारण कोही पनि विद्यालय शिक्षाबाट बञ्चित हुन नहुने र विद्यालयलाई त्यस्तो सूचना ननकिाल्न अनुरोध गरे।
अध्येता देवीराम आचार्यले ट्विट गर्दै विद्यालयले निकालेको सूचनाको विषयलाई आलोचना गर्दै व्यंग्य गरेका छन्। ‘सबैका लागि शिक्षा। शिक्षा अधिकार हो। लु हेरौं स्कुलको धम्की,’ उनको ट्विटमा उल्लेख छ।
‘अहिले कोरोना महामारी छ,’ आचार्यले भने, ‘विद्यालयले अनलाइन अप्लोड गर्न नसकिने बाहना गर्दै भर्ना लिइँदैन भन्न पाउँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।