काठमाडौं–नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीलाई वार्षिक नवीकरण शुल्क भुक्तानी गर्न सूचना जारी गरेको छ।
नेप्सेले चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक नवीकरण शुल्क भुक्तानी गर्न बाँकी कम्पनीलाई यही असोज मसान्तभित्र तिर्न निर्देशन दिएको हो। यदि कम्पनीहरुले दिएको समयभित्र वार्षिक नवीकरण शुल्क भुक्तानी नगरे दोस्रो बजारमा कारोबार रोक्का हुन्छ। साथै तोकिएको समयभित्र नवीकरण शुल्क भुक्तानी नगरेमा १० प्रतिशत जरिवाना तिर्नु पर्ने हुन्छ।
५० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले वार्षिक नवीकरण शुल्क ५० हजार रुपैयाँ बुझाउनु पर्छ। त्यस्तै ५० करोड रुपैयाँभन्दा माथि चुक्ता पुँजी भएका कम्पनीले एक लाख रुपैयाँ नवीकरण शुल्क भुक्तानी गर्नु पर्ने नेप्सेले जनाएको छ।
त्यस्तै ५० करोड रुपैयाँसम्मको डिवेन्चर तथा म्युचुअल फण्डले २५ हजार रुपैयाँ नवीकरण शुल्क तिर्नु पर्छ भने ५० करोड रुपैयाँभन्दा माथिका डिवेन्चर तथा म्युचुअल फण्डले ५० हजार रुपैयाँ तिर्नु पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।