काठमाडौं-जीवनबिमा कम्पनीले कोरोना महामारीकै अवधिमा पनि २० अर्ब रुपैयाँको व्यवसाय गरेका छन्। उनीहरुले एक महिनामै दोब्बरले व्यवसाय विस्तार गरेका हुन्। चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा १९ जीवनबिमा कम्पनीले ७८ लाख ३५ हजार पोलिसी बिक्री गरेका छन्। गत साउनमा कम्पनीहरुले १० अर्ब १४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका थिए।
जीवनबिमा कम्पनीमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै ६ अर्ब २८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ।
स्थानीय निकायले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका क्रममा लकडाउन तथा निषेधाज्ञा जारी गर्दा पनि जीवनबिमा कम्पनीहरुले आफ्नो व्यवसाय विस्तार गरेका हुन्। यसमा प्रथम बिमा शुल्ककाे हिस्सा भने धेरै कम रहेको कम्पनीले जनाएका छन्। नयाँको तुलनामा पुराना बिमा कम्पनीले पुराना पोलिसीमार्फत् प्रिमियम बढाए पनि नयाँको भने धेरै कम छ।
दोस्रो स्थानमा रहेको राष्ट्रिय बिमा संस्थानले तीन अर्ब ८७ करोड रुपैयाँ बिमा शुल्क आर्जन गर्दा सबैभन्दा कम महालक्ष्मी लाइफको १२ करोड रुपैयाँमात्रै छ। नेपाल लाइफले मात्रै ६ अर्ब २८ करोड रुपैयाँको बिमा शुल्क आर्जन गर्नुमा कम्पनीले बिक्री गरेको पोलिसी संख्या १३ लाख २२ हजार वटा छन्। जबकि सबैभन्दा कम प्रिमियम आर्जन गर्ने महालक्ष्मीको पोलिसी संख्या १४ हजार ६५१ वटा रहेको छ।
ठूला जीवनबिमा कम्पनीले महंगा-महंगा पोलिसी जारी गर्न सफल हुँदा पनि उनीहरुको बिमा शुल्क आर्जन धेरै रहेको छ। दोस्रो स्थानमा रहेको राष्ट्रिय बिमा संस्थानले सरकारी कर्मचारीको बिमा गर्दै आएको छ। यसले गर्दा पनि कम्पनीको प्रिमियम आर्जन बढेको हो।
अर्कोतर्फ दोस्रो स्थान कायम गर्दै आएको एलआइसी नेपाल तेस्रो स्थानमा झरेको छ। कम्पनीले दुई अर्ब ५३ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। नयाँ जीवन बिमा कम्पनी युनियन लाइफ इन्स्योरेन्सले ९४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। पुराना बिमा कम्पनीमध्ये नेपाल लाइफ, राष्ट्रिय बिमा संस्थान, एलआइसी नेपाल र नेशनल लाइफ बढी आक्रामक छन्।
जीवन बिमा कम्पनीले भदौ महिनामा आर्जन गरेको बिमा शुल्क र पोलिसी संख्या
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।