काठमाडौं–पर्वतारोहण तथा पदयात्रामा विदेशबाट नेपाल आउने पर्यटकले बढीमा ७२ घण्टाअगाडि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्ने भएको छ।
सरकारले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ मा उक्त व्यवस्था गरेको हो। उक्त मापदण्ड यही असोज ९ गते स्वीकृत भएको थियो।
मापदण्डअनुसार पर्यटकले कम्तिमा ७ दिन क्वारेन्टाइनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको कागजात पेश गर्नुपर्ने, कोरोनासम्बन्धी प्रयोजनका लागि कम्तिमा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर बराबरको बिमा गरिएको कागजात पेश गर्नुपर्ने र नेपाल प्रवेशपश्चात पर्यटकले न्युनतम ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ। होटल क्वारेन्टाइन अवधिको पाँचौ दिन पर्यटककै खर्चमा पिसीआर परीक्षण गर्नुपर्ने र नेगेटिभ रिपोर्ट आएमा पदयात्रा वा पर्वतारोहणमा जान पाइने जनाइएको छ।
तर नतिजा पोजेटिभ आएमा नेगेटिभ नआएसम्मको अवधिमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने मापदण्डमा उल्लेख छ। यस्तै, पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तिमा १ लाख रुपैयाँको बिमा गर्नुपर्ने र नेपालको स्वास्थ्य मन्त्रालयबाट स्वीकृत स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने मापदण्डमा जनाइएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।