म्याग्दी-तीन महिनादेखि अवरुद्ध बेनी-बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ। विभिन्न स्थानमा खसेको पहिरोले गत असारदेखि अवरुद्ध सडक मर्मतपछि सोमबारदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ।
सडकखण्डको तल्ली बान्द्रे, बागलुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी खोला, रत्नेचौरको रानीबन लगायतका ठाउँमा पहिरो आएपछि गत असार महिनादेखि नै सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि कुनै पनि यातायातका साधन सञ्चालन हुन सकेका थिएनन्। सडक डिभिजन कार्यालयले मानिस र मेसिनको प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालन गरेको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए।
यसअघि सडक तीन महिनासम्म अवरुद्ध हुँदासमेत मर्मतका लागि सडक डिभिजन कार्यालयले चासो नदेखाएको भन्दै सडक प्रयोग गर्ने म्याग्दी र बागलुङका उपभोक्ताहरुले डिभिजन कार्यालयमा धर्नासहित ध्यानाकर्षण पत्र बुझाएका थिए ।
बेनी–मालढुङ्गा सडकको विकल्पका रूपमा रहेको बेनी–बागलुङ सडक अवरुद्ध हुँदा बेनी नगरपालिका १ रत्नेचौर र वडा नं २ ज्यामरुककोटका साथै बेनी र बागलुङ आवतजावत गर्ने सयौँ यात्रु समस्यामा परेका थिए । सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई बजार ल्याउन समस्या भएको थियो । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।