काठमाडौं- खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले यस वर्ष वितरण गर्ने पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गर्ने निर्णय गरेको छ। मंगलबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले यस वर्ष अर्पण गरिने पुरस्कार र सम्मान रद्द गर्ने निर्णय गरेको हो।
पद्मश्री पुरस्कारका लागि सञ्जीव उप्रेतीको 'हंस' छनौट भएको थियो भने पद्मश्री साधना सम्मानका लागि मोदनाथ प्रश्रित छनौट भएका थिए। पुरस्कार र सम्मान प्रतिष्ठानले एकै समयमा विवतरण गर्दै आएको थियो। तर उप्रेतीले प्रश्रितसँगै बसेर पुरस्कार ग्रहण नगर्ने घोषणा गरेपछि प्रश्रितले पनि सो पुरस्कार ग्रहण नगर्ने घोषणा गरेका थिए। यसरी विवादमा परेपछि यस वर्षको पद्मश्री पुरस्कार कार्यक्रम नै रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
'विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,' प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
२०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको छ भने पद्मश्री साहित्य पुरस्कार २०६७ सालदेखि नियमित अर्पण गरिँदै आएको छ। असोज ११ गते पुरस्कार तथा सम्मानबाट सम्मानित हुनेहरुको घोषणा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।